तयारी कपडाको मूल्य अत्यधिक बढ्यो

तयारी कपडाको मूल्य अत्यधिक बढ्यो

२६ पौष, काठमाडौँ । तयारी कपडाको मूल्य अत्यधिक बढेको छ । गएको वर्षको तुलनामा तयारी कपडामा २० प्रतिशतदेखि शत प्रतिशतसम्म मूल्य बढेको काठमाण्डौको कोटेश्वरमा कपडा व्यापार गर्ने विनोद दाहालले बताए ।

होलसेल पसलमै मूल्य बढेको कारण आफूहरुलाई बिक्री गर्न समेत समस्या भएको उनले बताए । अघिल्लो वर्ष उस्तै कपडा किनेका ग्राहक यो वर्ष मूल्य सुन्दा आत्तिने गरेका उनले बताए ।

कोरोना महामारी सुरू भएयता अन्तर्राष्ट्रिय बजारमा मजदुरको पारिश्रमिक वृद्धि हुनुका साथै ढुवानी भाडा बढेपछि विदेशबाट नेपालमा आयात हुने विभिन्न ब्रान्डका तयारी कपडाको मूल्य बढेको व्यापारीहरूले बताएका छन् ।

हिजो राष्ट्रिय व्यापार सङ्घले काठमाण्डौमा आयोजना गरेको १७औँ वार्षिक साधारण सभा तथा नवौँ महाधिवेशनमा नेपाल हिमालय सीमापार व्यापार सङ्घका अध्यक्ष अशोक श्रेष्ठले कोरोना महामारीका कारण चीनतर्फका तातोपानी र रसुवागढी नाकाको अवस्था व्यापारीहरूका लागि भयावहजस्तै बनेकाले ढुवानी भाडा अत्यधिक रूपमा बढेको बताए ।

उनका अनुसार रसुवागढी नाकाबाट नेपाली व्यापारीहरूले सामान आयात गर्दा चीनतर्फबाट नेपालतर्फको सिमानामा सामान ल्याइ पुर्याउन २२ किलोमिटर दूरीमा प्रतिगाडी भाडादर चार लाख ५० हजार रुपैयाँभन्दा बढी तिर्नु परेको छ । यसले गर्दा कपडाको मूल्य झण्डै ५० प्रतिशत बढेको श्रेष्ठले बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.