२६ पौष, काठमाडौँ । प्रधानमन्त्री कप टि२० राष्ट्रिय प्रतियोगितामा मध्यगतिका बलिङ अलराउन्डर नारायण जोशी र स्पिनर आदित्य महता घातक बलिङसँगै नेपाल पुलिस क्लबले सुदूरपश्चिम प्रदेशलाई ९४ रनको सामान्य लक्ष्य दिएको छ ।
मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको पुलिसले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ९३ रन मात्र बनाउन सक्यो ।
पुलिसका ओपनर कुशल भुर्तेलले ३८ बलमा १ छक्कासहित सर्वाधिक २१ रन बनाए । नारायणले पुलिसको शीर्षक्रम धरासय बनाएका थिए । ओपनर पवन सरार्फलाई छैटौं ओभरको पाँचौं बलमा नारायणले शेर मल्लबाट २० रनमा क्याच गराउँदै पहिलो सफलता दिलाए ।
पवनले १६ बलमा ४ चौका प्रहार गरे । नारायणले दीपेन्द्रलाई ७ रनमा बोल्ड आउट गरे । १२ औं ओभरको दोस्रो बलमा अनिल शाहलाई पाँच रनमा एलबीडब्लू आउट गरेपछि पुलिस ५८–३ को अवस्थामा पुगेको थियो ।
ओपनर कुशल भुर्तेललाई शेर मल्लले वसन्त कार्कीबाट २१ रनमा क्याच गराए । ३८ बलमा कुशलले १ छक्का प्रहार गरे । त्यसपछि आदित्य महताले पुलिसको मध्यक्रम ध्वस्त बनाएका थिए । आदित्यले दीलिप नाथलाई १, आसिफ शेखलाई १० र अन्जित श्रेष्ठलाई ५ रनमा क्याच गराएपछि पुलिस ८२–८ को अवस्थामा पुगेको थियो ।
ओपनर कुशल भुर्तेल र पवन सरार्फले पहिलो विकेटका लागि ५.५ ओभरमा ३८ रनको सुरुवात दिलाउँदै राम्रो सुरुवात दिलाएका थिए । तर बाँकी ४४ रन जोड्न ८ विकेट गुमाएपछि पुलिस संकटमा पुगेको थियो ।
सुदूरपश्चिमका नारायण जोशीले ४ ओभरमा १८ रन खर्चेर ३ विकेट लिए । आदित्य महताले ३ ओभरमा ९ रन खर्चेर ३ विकेट लिए । शेर मल्लले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए ।