आहा रारा गोल्डकपको २० औँ संस्करण आउँदो माघ ६ गतेदेखि हुने

आहा रारा गोल्डकपको २० औँ संस्करण आउँदो माघ ६ गतेदेखि हुने

२६ पौष, काठमाडौँ । आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको २०औँ संस्करण आउँदो माघ ६ गतेदेखि १५ गतेसम्म पोखरा रङ्गशालामा हुने भएको छ ।

‘खेलकुद विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकुद पर्यटन सहरका रुपमा स्थापित गरौँ’ भन्ने उद्देश्यका साथ सहारा क्लब पोखराद्वारा आयोजित प्रतियोगितामा नेपालका ‘ए’ डिभिजन क्लब, आयोजक सहारा र एक विदेशीसहित १० टोलीको सहभागिता रहने छ ।

प्रतियोगितामा नेपालका ‘ए डिभिजन क्लब’ सङ्कटा फुटबल क्लब, मच्छिन्द्र क्लब, मनाङ मर्स्याङ्दी क्लब, नेपाल पुलिस क्लब, हिमालयन शेर्पा क्लब, रुस्लान थ्रिस्टार क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल एपीएफ क्लब, बीवाईएससी मिनेसोटा अमेरिका र सहारा क्लब पोखराको सहभागिता रहने क्लबका अध्यक्ष हरिराम गुरुङले जानकारी दिए ।

अघिल्लो संस्करणमा नेपालको ’ए’ डिभिजन क्लब सङ्कटाले उपाधि जितेको थियो भने उपविजेता अफ्रिकन रुट एसोसिएशन डाउल्ला, क्यामरुन रहेको थियो । २०५५ सालमा स्थापना भएको यो प्रतियोगिता सहारा क्लबले आयोजना गर्दै आएको छ ।

यस प्रतियोगितालाई पहिलो संस्करणदेखि नै मुख्य प्रायोजकका रुपमा बहुचर्चित मोफसलको व्यापारिक प्रतिष्ठान हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा तयारी चाउचाउले गरेको छ ।

प्रतियोगितामा कुल अनुमानित आम्दानी एक करोड ३६ लाख एक हजार र अनुमानित खर्च एक करोड छ लाख ४८ हजार ५०० रुपैयाँ रहेको क्लबले जनाएको छ । क्याराभान गोल्ड कपसहित यो प्रतियोगिता २१ वर्षदेखि निरन्तर सञ्चालित छ ।

प्रतियोगिताबाट बचत रकम क्लबद्वारा सञ्चालित ‘सूर्यबहादुर केसी’ स्मृति सहारा फुटबल एकेडेमीमा खर्च गरिँदै आएको क्लबका महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिए ।

अहिले तेस्रो ब्याचका रुपमा एकेडेमीमा १४ जिल्लाका २४ बालक आश्रित छन् । २०६१ सालदेखि आश्रित बालकको भरणपोषण आवासीयरुपमा निःशुल्क स्वास्थ्य, शिक्षालगायत फुटबल प्रशिक्षणलगायतका कार्य क्लबले गर्दै आएको छ । एकेडेमीको सञ्चालनको मुख्य स्रोत नै प्रतियोगिता रहेको छ ।

गएको वर्ष सम्पन्न प्रतियोगिताबाट कुल आम्दानी ७६ लाख ५० हजार ६४७ र खर्च ६३ लाख एक हजार १९९ भएको तथा १३ लाख ४९ हजार ४४७ रुपैयाँ बचत भएको कार्यक्रममा जानकारी दिइएको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.