६ माघ, रौतहट ।
संघीय सरकारको भौतिक पूर्वाधार तथा यातायातमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) की नेतृ रेणु यादवले सिके राउतको हत्या गर्ने धम्की दिएकी छिन् ।
बुधबार रौतहट सदरमुकाम गौरमा बलिदानी दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले गौर नरसंहारको पुनरावृत्ति गर्ने अभिव्यक्ति दिएकी हुन्।
पदीय मर्यादा विपरीत उनले जनमत पार्टीका अध्यक्ष सिके राउतलाई गौर काण्ड भएकै राइस मिलमा घेरेर हत्या गर्ने चेतावनी दिएकी छन्।
‘गौर नरसंहारको इतिहास राइस मिल जिवीत छ। गौरमा फँणा देखाउने प्रयास नगर,’ राउतलाई चेतावनी दिँदै मन्त्री यादवले भनिन्, ‘यहाँ लाठी भाँच्न मानिसले जानेका छन्। तुफानसँग टकराउने प्रयास नगर।’
हिन्दी भाषामा भाषण गर्दै फिल्मी शैलीमा उनले भनिन्, ‘तुफानसँग टकराउने प्रयास गर्यो भने त्यहि हालत हुन्छ। जुन गौरको राइस मिलमा भएको थियो। त्यो इतिहासलाई राउतले नभुलुन्। नत्र तपाइँको कार्यकर्ता मारिन्छन् र तपाइलाई पनि घेराबन्दी गरेर मारिदिन्छन्। हत्या हुन्छ। सतर्क रहनुस्।’
मन्त्री यादव बुधबार गौरमा कार्यक्रममा सहभागि हुन पुगेका बेला जनमत पार्टीका कार्यकर्ताले किसानको समस्या समाधान गर भन्दै नाराजुलुस गरेका थिए । उनीहरुले मन्त्री यादवलाई कार्यक्रम स्थल जान पनि अवरोध गरेका थिए।
सुरक्षा घेरामा कार्यक्रम स्थल पुगेकी मन्त्री यादवले सभालाई सम्बोधनका क्रममा सिके राउतविरुद्ध हिंसात्मक अभिव्यक्ति दिएकी हुन्।
उनले बलिदानी दिवस भएकै कारण गौरमा बुधबार नरसंहार रोकिएके संकेत समेत गरिन्। ‘फणा फैलाउने प्रयास नगर । गौरका मानिसले लाठी भाँच्न राम्ररी जानेका छन्। तिम्रो फणालाई तोडफोड गरेर घरमा राखिदिन्छन् । हामीले आज रोकि दियौं। आज बलिदानी दिवसको दिनमा हिंसा गर्नु हुँदैन भनेर।’
मन्त्री यादवले सिके राउतलाई हिम्मत भए सिंहदरबार घेर्न चुनौती दिइन्। ‘यदि तपाइँको कलेजोमा ताकत छ। गाई, भैँसीको दुध खानु भएको छ भने गएर सिंह दरबार घेराउ गर्नुस्।
घरमा फासफुस हरियो साग सब्जी खानु भएको होला,’ मन्त्री यादवले राउतलाई चेतावनी दिँदै भनिन्, ‘तर जसको नसमा गाइ र भैँसीको दुधको रगतको ताकत छ उसलाइ फासफुस कहिल्यै पनि हुँदैन। लड्ने प्रयास नगर्दा वेश हुन्छ।’