१६ माघ, काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले स्थानीय तहको निर्वाचन समयमै हुनुपर्ने बताए ।
विराटनगरस्थित कोइराला निवासमा आज बिहान सञ्चारकर्मीसँग कुरा गर्दै उनले लोकतन्त्रमा अद्यावधिक निर्वाचन मौलिक हक भएकाले यो निर्वाचन कुनै बहानामा सार्न नहुनेमा जोड दिए ।
उनले सरकारले निर्वाचनका विषयमा सिंधै निर्वाचन आयोगसँग छलफल गरी टुङ्गो लगाउनुपर्ने तर्क गर्दै ऐन कानुन परिवर्तन गरेर निर्वाचन सार्न नहुने विचार व्यक्त गरे । उनले भने गठबन्धन दलसँगभन्दा पनि सरकारले निर्वाचन आयोगसँग छलफल गरेर निर्वाचनको मिति तोक्दा राम्रो हुने बताए ।
केन्द्रीय सदस्य डा कोइरालाले पार्टीको १४औं महाधिवेशनमा पराजित भएका वरिष्ठ नेतालाई केन्द्रीय सदस्यमा मनोनीत गर्न नेतृत्वलाई सुझाव पनि दिए ।
उनले प्रदेश–१ को नामकरण दलको सहमतिमा हुनुपर्ने भन्दै खर्च बढ्ने गरी मन्त्रालय टुक्र्याउने र मन्त्रीको सङ्ख्या बढाउने कुराले सुशासनमा असर पर्ने धारणा राखे ।
देशको आर्थिक अवस्थालाई ध्यानमा राखेर प्रदेश सरकारले आफ्नो सरकार बिस्तार गर्नुपर्ने र प्रदेश सरकार पारदर्शी, जवाफदेही र उत्तरदायी हुनुपर्छ भने ।