१७ माघ, काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)की सचिव पद्मा अर्यालले स्थानीय तहको निर्वाचन मिति छिटोभन्दा छिटो घोषणा गर्न सरकारलाई दवाव दिएकी छन् ।
सोमबार नेकपा (एमाले)को केन्द्रिय कार्यालय टिमको बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै सचिव अर्यालले सरकारले स्थानीय तहको निर्वाचन मिति छिटोभन्दा छिटो घोषणा गर्नुपर्ने बताएकी हुन् । उनले स्थानीय तहको निर्वाचन वैशाख महिनाभित्रै सक्नुपर्ने पनि बताइन् ।
उनले भनिन्, ‘स्थानीय तहको निर्वाचनाका सम्बन्धमा पार्टीको स्थायी समितिको बैठकले आधिकारिक धारणा सार्वजनिक गर्छ । त्यही पनि विगतदेखि हामीले भनि नै आएका छौँ, स्थानीय निर्वाचन वैशाखको महिनाभित्र सक्नुपर्छ । त्यसैले छिटोभन्दा छिटो सरकारले घोषणा गरोस् भन्ने नेकपा(एमाले)को कुरा हो । हामी त्यो पक्षमा बारम्बार बोलिरहेका छौँ । र पर्सिको बैठकबाट पनि हामीले त्यो विषयलाई मुख्य रुपमा अगाडी बढाउँछौँ ।’
सचिव अर्यालले एमसीसीको विषयमा सरकारले छलफल अगाडी बढाउन खोजेको भएपनि संसदमा दर्ता हुने/नहुने एकिन नभएको बताइन् । एमसीसी संसदमा दर्ता भएको अवस्थामा मात्रै एमालेले आफ्नो धारणा स्पष्ट पार्ने उनले बताइन् ।
सचिव अर्यालले भनिन्, ‘एमसीसीको सन्दर्भमा सरकारले अहिले छलफल अगाडी बढाउन खोजिरहेको छ, त्यो एमसीसी संसदमा दर्ता हुन्छ कि हुँदैन । अहिले त्यो कुनै एकिन छैन । त्यसैले त्यो विषयमा अहिले छलफल गरिरहन हामीले उपयुक्त ठानेका छैनौँ । जतिबेला त्यहाँ दर्ता दर्ता हुन्छ, त्यो बेला नेकपा(एमाले)ले आफ्नो पोजिशन क्लियर गर्नेछ ।’
पार्टी महासचिव शंकर पोखरेलको अध्यक्षतामा बसेको केन्द्रिय कार्यालय टिमको बैठकले पार्टीको जिल्ला अधिवेशन र भर्खरै सम्पन्न भएको राष्ट्रियसभा निर्वाचनको सम्बन्धमा समीक्षा गरेको सचिव अर्यालले जानकारी दिइन् ।