१८ माघ, विराटनगर ।
देशभरको मौसम मंगलबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिमी वायुको आंशिक प्रभाव रहको र बुधबार रातिदेखि यसको प्रभाव बढ्ने सम्भावना रहेको मौसमविदले बताएका छन् । अहिले पहाडी भू–भागमा आंशिक बदली रही तराईका क्षेत्रमा हुस्सु–कुहिरो लागेको छ।
मंगलबार दिउँसो प्रदेश १, बागमती प्रदेश तथा गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी क्षेत्रमा आंशिक बदली रहनेछ ।
प्रदेश १, बागमती प्रदेश तथा गण्डकी प्रदेशका थोरै स्थान र मधेस प्रदेश तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना छ। देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको संभावना रहेको मौसमविदले बताएका छन् ।
यस्तै राति प्रदेश १, बागमती प्रदेश तथा गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी क्षेत्रमा आंशिक बदली रहनेछ ।
प्रदेश १ र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ। देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको संभावना छ ।