‘मार्सल टोली’द्वारा स्टिङ्ग अप्रेसनः मिनवा म्यानपावरका सञ्चालकसहित तीन जना पक्राउ

‘मार्सल टोली’द्वारा स्टिङ्ग अप्रेसनः मिनवा म्यानपावरका सञ्चालकसहित तीन जना पक्राउ

१८ माघ, काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सञ्चालन भएको कल सेन्टरमा ठगीको सूचनापछि मार्सल टोलीले स्टिङ्ग अप्रेसन गरेको छ ।

काठमाण्डौको सिनामङ्गलमा रहेको मिनवा म्यानपावरले वैदेशिक रोजगारीमा जाने श्रमिकसँग सरकारले तोकेभन्दा धेरै रकम लिएर ठगी गर्दै आएको सूचनापछि मन्त्रालयले गठन गरेको मार्सल टोलीले सञ्चालक हेमराज राईसहित तीन जनालाई पक्राउ गरेको हो ।

वैदेशिक रोजगारीमा कतार जाने तयारीमा रहेका अलि मुस्तफासँग एक लाख २० हजार रुपैयाँ लिँदै गरेको अवस्थामा म्यानपावर सञ्चालक राई, म्यानपावरका कर्मचारी साहरा थापा तथा एजेन्ट महोम्मद इसाक मियाँलाई रकमसहित पक्राउ गरी केन्द्रीय अनुसन्धान ब्युरोमा लगिएको मार्सल टोलीका संयोजक विष्णु लामिछानेले जानकारी दिनुभयो ।

सरकारले तोकेभन्दा धेरै रकम लिने म्यानपावरका बारेमा सूचना पाए तत्कालै स्टिङ्ग अप्रेसन गरिने पनि लामिछानेले बताउनुभयो । अस्ति आइतवारदेखि सुरु भएको कल सेन्टरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँगको पहिलो फोनमा गुनासोकर्ताले म्यानपावरले सरकारले तोकेभन्दा बढी पैसा असुली गर्ने गरेको गुनासो गरेका थिए ।

वैदेशिक रोजगारीको खोजीमा रहेका, जाने क्रममा रहेका र विदेशमा अलपत्र पार्ने म्यानपावर कम्पनीमा अनुगमन तीव्र पारिने पनि मन्त्री श्रेष्ठले बताउनुभएको छ ।

वैदेशिक रोजगारीको क्रममा अलपत्र परेको, ठगीमा परेको, विभिन्न समस्या तथा अप्ठ्यारोमा परेमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीको सचिवालयमा ९८२३२५६७०४, ९८२३२५६७०६ नम्बर सम्पर्क गर्न सकिन्छ भने मन्त्रालयको कल सेन्टर ९७७१५९७००८ वा ११४१ नम्बरमा चौबीसै घण्टा फोन गरेर आफ्नो समस्या र गुनासो टिपाउन सकिन्छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.