१९ माघ, विराटनगर ।
बुधबार रातिदेखि नेपालको मौसममा पश्चिमी न्यूनचापीय प्रणाली भित्रिने भएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार रातिदेखि पश्चिम नेपालबाट प्रवेश गर्न लागेको उक्त प्रणालीको प्रभावले केही दिन मौसममा आंशिकदेखि पूर्ण बदली रहने भएको छ ।
महाशाखाका अनुसार बिहीबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली तथा वाग्मती , मधेश प्रदेश र प्रदेश नं १ मा आंशिकदेखि सामान्य बदली रहने, शुक्रबार देशैभरी सामान्यदेखि पूर्ण बदली रहने र शनिबार देशभरि आंशिक देखि सामान्य बदली रहने देखिन्छ।
यो मौसमी प्रणालीका कारण हवाई क्षेत्र, पर्वतारोहण, कृषि, यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभाववाट जोगिन आवश्यक सतर्कता अपनाउन पनि महाशाखाको अनुरोध छ ।
बिहीबार पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपात र पहाड र तराई केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।
शुक्रबार भने देशका पहाडी तथा तराईका धेरै स्थानहरुमा मेघ गर्जन चट्याङ–असिनासहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनुको साथै गण्डकी तथा लुम्बिनी प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।
शनिबार मुलुकका केही स्थानमा हिमपात र वर्षा भए पनि आइतबारदेखि यो मौसम प्रणाली कमजोर हुँदै मौसममा क्रमिक रुपमा सुधार आउने महाशाखाले जनाएको छ ।