२० माघ, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकताका लागि पूर्व अध्यक्ष कमल थापाले उठाएका माग सम्बोधन गर्न राप्रपा निकट विद्यार्थी संगठनले माग गरेको छ ।
अध्यक्ष राजेन्द्र लिङदेनलाई तीन बुँदे मागसहित बिहीबार ज्ञापन पत्र बुझाउँदै राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन केन्द्रीय कार्यसमितिले थापाले पार्टी एकताका लागि उठाएका माग सम्बोधन गर्न ध्यानाकर्षण गराएको छ ।
कार्यवहाक अध्यक्ष शशी श्रेष्ठ र महासचिव जनक फडेराद्वारा हस्ताक्षरित विज्ञप्तिमा कमल थापाका माग पत्रलाई केन्द्रीय कार्यसमिति बैठकमा पेश गरी छलफल गर्नुपर्ने , पार्टीलाई यो स्थानसम्म ल्याइ पुर्याउन योगदान गर्ने ब्यक्तिहरुलाई उपेक्षा नगरी सबैलाई समान व्यवहार र उचित सम्मानका साथ उचित स्थान दिन माग गरिएको छ ।
यस्तै विज्ञप्तिमार्फत पार्टी भित्रका असन्तुटिलाई चाडो भन्दा चाडो छलफल गरी सम्बोधन गरी पार्टी एकता काय राख्न माग गरिएको छ ।
राप्रपाको महाधिवेशनमा अध्यक्ष पदमा पराजित भएपछि थापाले पार्टीमा पूर्व राजा ज्ञानेन्द्र शाहको हस्तक्षेप भएको भन्दै त्यसको छानविन हुनुपर्ने माग राख्दै आएका छन् ।