२९ माघ, विराटनगर ।
चारदेशीय टी–२० शृंखलाको दोस्रो खेलमा शनिबार नेपालले सयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध मैदान उत्रँदैछ।
शृंखलाको पहिलो खेलमा आयोजक ओमानलाई पराजित गरेको नेपाल यूएईविरुद्ध मैदान उत्रँदा आफ्नो जीतको यात्रालाई निरन्तरता दिने लक्ष्यमा हुनेछ। ओमानको मस्टकस्थित अल अमेरत क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार बिहान पौने १२ बजेदेखि सुरु हुनेछ।
शृंखलाको पहिलो खेलमा नेपालले शुक्रबार ओमानलाई ६ विकेटले पराजित गरेको थियो। नेपालको जीतमा ब्याटिङतर्फ दीपेन्द्रसिंह ऐरीले अविजित ७३ रन बनाउँदा बलिङमा अविनाश बोहराले तीन विकेट लिएका थिए।
ओमानविरुद्धको ७३ रन दीपेन्द्रले ट्वान्टी २० क्रिकेटमा बनाएको सबैभन्दा उच्च रन हो। आईसीसी टी-२० विश्वकपको ग्लोबल छनोटको तयारीका लागि नेपाल, ओमान, यूएई र आयरल्यान्ड चारदेशीय शृंखलामा सहभागी छन्।