संवैधानिक इजलासका बाँकी चार न्यायाधीशविरुद्ध महाअभियोग दर्ता गर्दै एमाले

संवैधानिक इजलासका बाँकी चार न्यायाधीशविरुद्ध महाअभियोग दर्ता गर्दै एमाले

२ फागुन, काठमाडौं ।
नेकपा एमालेले चार जना न्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गर्ने तयारी गरेको छ ।

संसद पुनःस्थापनाको फैसला गर्ने न्यायाधीशहरु दीपक कुमार कार्की, मिरा खड्का, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईविरुद्ध एमालेले महाअभियोग प्रस्ताव दर्ता गर्ने तयारी गरेको हो ।

महाअभियोग प्रस्तावबारे छलफल गर्न एमालेले आज बिहान ११ बजे संसदीय दलको बैठक बोलाएको छ । बैठकमा सांसदहरुको हस्ताक्षर संकलन गर्ने र महाअभियोग प्रस्ताव दर्ता हुने एमालेका एक पदाधिकारीले बताएका छन् ।

सत्ता गठबन्धनका ९८ जना सांसदहरुले आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेका थिए । महाअभियोग प्रस्ताव दर्ता लगत्तै जबरा निलम्बनमा परेपछि कार्की कायम मुकायम प्रधानन्यायाधीश बनेका छन् ।

जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएपछि आइतबार साँझ आकस्मिक रुपमा बसेको एमालेको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले संसद पुनःस्थापनाको फैसला गर्ने न्यायाधीशहरुविरुद्ध महाअभियोग प्रस्ताव ल्याउनुपर्ने बताएका थिए ।

तर योगेश भट्टराई, सुभास नेम्वाङ लगायतका नेताहरुले त्यसो गर्न नहुने बताए पनि ओलीले नमानेको स्रोतले बतायो ।

ओलीले गरेको संसद विघटनलाई गत २८ असारमा प्रधानन्यायाधीश जबरा नेतृत्वको पाँच सदस्यीय संवैधानिक इजलासले असंवैधानिक ठहर गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो ।

संवैधानिक इजलासमा न्यायाधीशहरु दीपक कुमार कार्की, मिरा खड्का, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराई सदस्य थिए । एमाले सचिवालय बैठकले जबराविरुद्धको महाअभियोग प्रस्ताव अदालत, लोकतन्त्र र सार्वभौम सत्तामाथिको षड्यन्त्रपूर्ण कदम भएको निष्कर्ष निकाल्दै असफल पार्ने निर्णय गरेको थियो ।

एमाले उपमहासचिव विष्णु रिमालले जबराविरुद्धको महाअभियोग प्रस्तावलाई एमालेमाथि ढुंगा हानिएको भनेर टिप्पणी गरेका छन् । हरेक क्रियामा बराबर तर विपरीत प्रतिक्रिया हुने भन्दै रिमालले सामाजिक सन्जालमा आज लेखेका छन्, ‘गठबन्धन भनिने ठगबन्धनले शान्त प्रतिपक्षी एमालेमाथि ढुंगा हानेको छ । ढुंगा सर्वोच्चमा बज्रिएको छ ।’

उनले थप लेखेका छन्, ‘फर इन एभ्री एक्सन, दियर इज आयन इक्वेल एण्ड अपोजिट रियाक्सन, हात छोड्नेले सोचेरै त हात छोडेका होलान् नी ?’

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.