८ फागुन, रुकुमपूर्व । तीन हप्तादेखि बन्द मध्यपहाडी लोकमार्ग सञ्चालनमा आएको छ ।
लोकमार्गको लुकुम–पातीहाल्ना खण्डमा जमेको हिउँ पन्छाएपछि सडक फेरि सञ्चालन भएको हो । पटक–पटक हिउँ पर्दा पन्छाउँदै यातायात सञ्चालन गर्दै आए पनि पछिल्लो समयमा भने लामो समयसम्म सडक बन्द हुनपुगेको हो ।
एक हप्ता लगाएर हिउँ पन्छाएपछि अहिले सडक सञ्चालनमा आएको भूमे गाउँपालिका अध्यक्ष रामसुर बुढामगरले जानकारी दिए ।
गाउँपालिकाको इन्धन सहयोगमा यो खण्डमा काम गरिरहेको सिद्धी शाही निर्माण कम्पनीले सडकमा जमेको हिउँ पन्छाएको अध्यक्ष बुढाले बताए ।
उनका अनुसार वडा नं १ को लामाक्याङबाट रुकुमपूर्व र बाग्लुङको सिमाना पातीहाल्नासम्मको अन्दाजी आठ–नौ किलोमिटरमा जमेको हिउँ पन्छाइएको हो।
यस खण्डमा साढे दुई फिटदेखि लिएर पाँच फिटसम्म हिउँ जमेको थियो । मध्यपहाडीको महत्त्वपूर्ण खण्डमा हिउँ जम्दा यात्रु समस्यामा परेका थिए ।
त्यही समस्यालाई मध्यनजर गर्दै गाउँपालिका, निर्माण कम्पनी, प्रहरी, प्रशासनको समन्वयमा सडक सञ्चालन गरिएको हो । हरेक वर्षको यही समयमा हिउँले मध्यपहाडी लोकमार्गको लकुम–पातीहाल्ना खण्ड बन्द हुँदा यात्रुले समस्या झेल्दै आइरहेका छन् ।
सडकमा जमेको हिउँ पन्छाएसँगै हिजोदेखि नियमितरूपमा रुकुमपूर्व र रोल्पाबाट पोखरा–काठमाण्डौ गाडी चल्न थालेको यातायात व्यवसायीले बताएका छन् ।