२२ फागुन, सुखेृत । प्रहरीको नियन्त्रणमा रहेका युवकको मृत्यु प्रकरणमा आफन्तले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् ।
सुर्खेत जिल्ला प्रशासन कार्यालयसँगको चार बुँदे सहमतिपछि मृतकका आफन्तले आन्दोलन नगर्ने भएका हुन् ।
पीडित परिवारसँग आइतबार सहमति भएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताए ।
प्रजिअ रिजालका अनुसार शनिबार बनाइएको छानबिन समितिमा एक जना चिकित्सकलाई सदस्यका रूपमा थप गर्ने, समितिको प्रतिवेदन बुझाउने म्याद सात दिन बनाउने, पीडकलाई कानुबमोजिम कारबाहीको व्यवस्था गर्ने, मृतकका परिवारलाई उचित राहतको लागि पहल गर्ने सहमति भएको छ।
शुक्रबार राति नेपालगञ्जबाट सुर्खेत आउँदै गरेका कालीकोटको तिलागुफा नगरपालिका–३ का मिनी हमाल भनेर चिनिने कृष्ण हमालको प्रहरीले नियन्त्रणमा राखेको भोलिपल्ट मृत्यु भएको थियो।
हमाल भे १ क ९२२ नम्बरको ट्रकमा आएका थिए। उक्त ट्रकसहित चालक र सहचलकलाई पनि प्रहरीले सुब्बाकुनामै नियन्त्रण लिएर राखेको थियो।
सहचालक र हमाललाई प्रहरीले मादकपदार्थ सेवन गरेको भन्दै कुटपिट गरेको आफन्तले आरोप लगाएका छन्। प्रहरीको कुटपिटबाट हमालको मृत्यु भएको भन्दै आफन्तले शनिबार वीरेन्द्रनगरमा आन्दोलन गरेका थिए।
आफन्तका अनुसार हमाल त्यो ट्रकमा कालीकोटको नाग्ममा रहेको आफ्नो किराना पसलको सामान लिएर आएका थिए।
शनिबार बिहानमात्र सुब्बाकुना प्रहरी पोष्टले उनीहरूलाई पुर्जी काटेर छोडेको थियो।
‘राति ट्रकमा कागजपत्र नभएपछि रोकिएको ट्रकका सहचालकमाथि प्रहरीले हातपात गरेछ, कुरा गर्न जाँदा हमाललाई पनि कुटेछ,’ हमालका एक आफन्तले भने, ‘रातभर छोडेनछ, बिहान अप्ठ्यारो भएपछि अस्पताल ल्याउँदा मृत घोषणा गरियो।’
सुर्खेत अस्पताल प्रालिले शनिबार बिहान सवा १० बजे हमाललाई मृत घोषणा गरेको थियो।
हमालको शव कर्णाली प्रदेश अस्पतालको शवगृहमा राखिएको छ। मृतकका बाबाआमासहित केही आफन्त कालीकोटबाट आज सुर्खेत पुग्दैछन्।
घटनाको छानबिन गर्न शनिबारनै चार सदस्यीय छानबिन समिति बनाएको थियो। सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद पाण्डेको संयोजकत्वमा समिति बनाइएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्ती, राष्ट्रिय अनुसन्धान सुर्खेत कार्यालयका अनुसन्धान अधिकृत गोपाल थापा र उच्च अदालत बार एसोसिएसन सुर्खेतका अध्यक्ष उत्तमप्रसाद शर्मा समितिको सदस्य छन्। आफन्तसँगको सहमति अनुसार आज उक्त समितिमा कर्णाली प्रदेश अस्पतालमा कार्यरत डाक्टर चन्द्रेश सिंहलाई सदस्य थप गरिएको छ।
यसअघि समितिलाई तीन दिनभित्र प्रतिवेदन बुझाउन भनिएको थियो। आफन्तको आग्रहपछि उक्त समय ७ दिन बनाइएको प्रमुख जिल्ला अधिकारी रिजालले बताए।