२७ फागुन, काठमाडौँ । स्थानीय तहको चुनावका विषयमा आज निर्वाचन आयोगले दलहरुसँग छलफल गर्दैछ ।
बिहान साढे ११ बजे आयोगकै कार्यालयमा दलहरुसँग छलफल गर्न लागिएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
छलफलमा सङ्घ, प्रदेश र पालिकामा अहिले प्रतिनिधित्व गरिरहेका १७ वटा दललाई बोलाइएको छ ।
सरकारले स्थानीय तहको चुनावको मिति घोषणा गरेको एक महिना भइसकेको र यो समयमा आयोगले गरेका कामबारे दलहरुलाई जानकारी दिइने प्रवक्ता शर्माले बताए ।
निर्वाचन आयोगसँग दलहरुका अपेक्षा र दलहरुसँग निर्वाचन आयोगका अपेक्षाबारे पनि छलफल हुँदैछ ।
यस्तै निर्वाचन आयोगले मतदान र मतगणनाको लागि सजिलो बनाउन मतपत्रमा हुने चुनाव चिह्नको रङ्ग हरियो बनाउने निर्णयमाथि भएका बहसको विषयमा पनि छलफल हुने प्रवक्ता शर्माले जानकारी दिए ।
स्थानीय तहको चुनाव आउँदो वैसाख ३० गते हुँदैछ ।