२८ फागुन, विराटनगर । सप्तकोशी सिमेन्ट प्रा. लि.ले विराटनगर आँखा अस्पतालको सहकार्यमा आज एकदिने निःशुल्क आँखा शिविर सञ्चालन गरेको छ ।
आज शनिवार कटहरी गाउँपालिका–४ को सुधामा चौकस्थित श्री आधारभूत विद्यालयमा बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म निःशुल्क आँखा शिविर सञ्चालन गरिएको थियो ।
शिविरमा आँखाका विशिष्ट चिकित्सकहरुले निःशुल्क जाँच गरेका थिए । एकदिने निःशुल्क आँखा शिविरमा ३ सय ५० भन्दा बढी सेवाग्राही परीक्षणका लागि आएका थिए । परीक्षणमा आएका सेवाग्राहीमध्ये ४२ जना मोतियाविन्दुका विरामीहरु रहेका थिए ।
त्यस्तै चस्मा जाँचका लागि ६५ जना, चेकजाँच गरेर औषधी पाउने १५७ जना र आँखामा मासु पलाएको ४ जना विरामीहरुले उक्त शिविरको लाभ उठाएका थिए ।
शिविरमा सबै उमेर समुहका मानिसहरु परीक्षणका लागि आएका थिए । विरामीहरुलाई औषधि पनि निःशुल्क बाडिएको आयोजक समितिले जनाएको छ । निःशुल्क गरिएको आँखा शिविरबाट आफूहरुले सुविधा पाउँदा विरामीहरु पनि खुशी थिए ।