गाई मरेकोमा एक योगी हिन्दु संस्कार अनुसार किरिया बस्दै

गाई मरेकोमा एक योगी हिन्दु संस्कार अनुसार किरिया बस्दै

१ चैत, चितवन । चितवनको भरतपुरमा रहेको बागीश्वरी आश्रमका एक योगी गाई मरेको भन्दै हिन्दु संस्कार अनुसार किरिया बसेका छन् ।

भरतपुर महानगरपालिका–१ देवघाट क्षेत्रमा रहेको योगी नरहरिनाथ गौ संरक्षण केन्द्रका योगी निरञ्जननाथ किरिया बसेका हुन् ।

गौशालामा संरक्षणका लागि राखिएको स्थानीय जातको एउटा गाईलाई केही दिनअघि बाघले खाएको र अर्को गाई बिजुलीको पोलमा ठोक्किएर मरेको बताइएको छ ।

उनी गएको १४ वर्षदेखि गाईको संरक्षण गर्दै आएका थिए । उनी विगत नौ दिनदेखि हिन्दु परम्पराअनुसार मानिसको निधन हुँदाजस्तै कपाल खौरिएर र सेतो कपडामा बरखी बारेर छुट्टै बसेका छन् ।

उनले भने, ’गौशालामा पालिएका गाई आफ्नो माता समान हुन् । गाईको सेवा गर्दा आफ्ना विभिन्न रोग निको भएको छ । गाईको सेवामा नै जीवन बिताउने छु ।’

योगी नरहरिनाथले कोटीहोम गरेको यस ठाउँमा चितवनकै माडीबाट स्थानीय जातको गाई ल्याएर राखिएको थियो । यसपछि उनका अनुयायीले त्यहाँ स्थानीय जातको गाई विस्तार र संरक्षण गर्दै आइरहेका छन् ।

गौ संरक्षण केन्द्रमा अहिले करिब २०० को हाराहारीमा गाई संरक्षण गरेर राखिएको यस केन्द्रका संयोजक रामप्रसाद वस्तीले बताए ।

गाईले दूध दिने बेलासम्म घरमा पाल्ने र दूध दिन छाडेपछि (बूढो भएपछि) गाईलाई छाडा छाड्ने कारणले स्थानीय प्रजातिको गाईको संरक्षणमा चुनौती थपिएको उनको भनाइ छ ।

आन्तरिक आम्दानीको कुनै पनि स्रोत नहुँदा गाईको संरक्षणमा समस्या भएको संयोजक वस्तीको भनाइ छ । अहिलेसम्म दाताहरूकै भरमा गाईको संरक्षण गर्दै आइरहेको छ ।

’गौ संरक्षण केन्द्रमा पालिएका गाईका लागि विभिन्न व्यक्तिले दाना, परालको व्यवस्थापन गर्दै आउनुभएको छ’, उनले भने, ’नियमित आम्दानी नहुँदा गाईको संरक्षणमा गाह्रो हुँदै आएको छ, राज्यले यसतर्फ ध्यान दिएमा केही सहज हुने थियो ।’ केन्द्रमा सामूहिक गाईपूजासहित विभिन्न समयमा गाईका लागि भण्डारा लगाउने गरिएको छ ।

योगी नरहरिनाथ आध्यात्मिक परिषद्का अध्यक्ष शैलेन्द्रकुमार पियाले केन्द्रमा संरक्षण गरिएका गाईलाई दीर्घकालीनरूपमा संरक्षण गरिराख्नका लागि अक्षयकोष निर्माण गरिएको जानकारी दिए ।

उनका अनुसार एक करोड रुपैयाँको अक्षयकोष निर्माण गर्ने गरी अभियान नै अगाडि बढाइएको छ । अक्षयकोषको लक्ष्यअनुरुप नै विभिन्न व्यक्ति तथा दाताले कोषमा रकम थप गर्दै आइरहेका छन् ।

स्थानीय जातको गाईको दूध, गहुँत, गोबरमा औषधीय गुण हुने भएकाले समेत यसको संरक्षण र संवर्द्धन गर्नुपर्ने गौ संरक्षण केन्द्रका पूर्वसंयोजक टङ्कनाथ पौडेलले बताए ।

’हाम्रो स्थानीय जातको गाई जुन गाईको जुरो पलाएको हुन्छ, ती गाईका दूधसहित गहुँत र गोबरमा औषधीय गुण हुन्छ’, उनले भने, ’हामीले बागीश्वरीमा शुद्ध गौ अर्क निर्माण बिक्री वितरण गर्दै आइरहेका छौँ ।’

स्थानीय जातको दूध तथा गहुँतको नियमित सेवनले मानिसको रोग प्रतिरोधात्मक क्षमता बढ्ने उनको भनाइ छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.