२ चैत, काठमाडौँ । होली पर्वलाई लक्षित गरेर महानगरीय प्रहरी परिसर, टेकुले विशेष सुरक्षा योजना बनाएको छ ।
होलीको समयमा भिडभाड गरेर उच्छृंखल गतिविधि हुनसक्ने भएकाले सामान्य अवस्थाभन्दा बढी प्रहरी परिचालन गर्ने गरी योजना बनाइएको काठमाडौं प्रहरीका एसपी दिनेशराज मैनालीले बताएका छन् ।
उनका अनुसार यसपालि होलीमा कम्तिमा १३ ठाउँ विशेष कार्यक्रम हुँदैछन् । त्यसलाई लक्षित गरेर एक हजार ६४९ जना प्रहरी जनशक्ति खटिनेछन् ।
उनका अनुसार २५ वटा मोबाइल टोली, ३७ पैदल गस्ती, ८७ क्वीक रेस्पोन्स टिम र २८ स्थानमा चेकिङ हुनेछ ।
गत वर्ष प्रहरीले कोरोना महामारीका कारण भिड जम्मा गरेर होली खेल्न रोक लगाएको थियो ।
यसपालि होली खेल्न बाधा नभएपनि कोही कसैको इच्छा विपरित जबरजस्ती रंग दले कारबाही हुने एसपी मौनालीले बताए ।
उनका अनुसार कसैलाई फोहोर पानी वा केमिकलसहितको रंग छ्यापेको पाइए पक्राउ गरेर कारबाही गरिनेछ ।
होलीको समयमा मोटरसाइकलमा ३ जना चढ्ने, विना हेलमेट हिँड्ने जस्ता गतिविधिविरुद्ध पनि कडा निगरानी गरिने उनले बताए ।
बाटोबाट हिँड्ने व्यक्तिलाई घरको छतबाट फोहोर पानी फाल्ने र लोला हान्ने काम पनि नगर्न अनुरोध गरेको मैनालीले बताए । उनले अनुहार नै नचिनिने गरी विभिन्न रंग रोगन गरी होली नखेल्न पनि अनुरोध गरेका छन् ।
कुनै घटना भए तत्काल नजिकका प्रहरी वा १०० मा फोन गरेर जानकारी गराउन पनि उनले अपील गरेका छन् ।