४ चैत्र, धादिङ ।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई दक्षिणपन्थी अवसरवादीको संज्ञा दिएका छन्।
धादिङ एमालेको कार्यक्रमलाई शुक्रबार सम्बोधनका क्रममा महासचिव पोखरेलले यस्तो बताएका हुन्। नेपालको कम्युनिष्टमा अवसरवाद कस्तो छ भन्ने थाहा पाउन प्रचण्ड र माधव नेपालको अनुहार देखाइदिए हुन्छ।
उनीहरु दक्षिणपन्थी अवसरवादका नमुना हुन्, उनले भने, यिनीहरुले कम्युनिष्टको दुईतिहाइलाई शेरबहादुर देउवाको पाउमा चढाइदिए। प्रचण्डले उनै देउवालाई २०५२ साल फागुन १ गते ४० बुँदे माग राखेर जनयुद्धमा होमिएको पनि पोखरेलले सम्झिए।
शेरबहादुर देउवालाई ४० बुँदे माग राखेर प्रचण्डले जनयुद्ध सुरु गरेका थिए। तिनै प्रचण्ड आजभोलि शेरबहादुर देउवा नहुने हो भने लोकतन्त्रको रक्षा हुन सक्दैन भन्दैछन्, उनले भने, शेरबहादुर देउवा नहुने हो भने माओवादी पार्टीको कल्याण हुन सक्दैन भन्दैछन्। यो भन्दा अवसरवाद अर्को के हुन्छ?
तत्कालीन नेकपा कब्जा गर्न खोज्दा प्रचण्ड र माधव नेपाल एकै चोटी सडकमा पछारिएको पनि बताएका छन्।
प्रचण्ड र माधव नेपालले कम्युनिष्ट सरकारको जनमत शेरबहादुर देउवाको पाउमा लगेर चढाउन खोजिएपछि प्रतिनिधिसभा विघटन गर्न खोजिएको हो, उनले भने, अहिले प्रचण्डले स्थानीय तहको चुनाव ६ महिना पछि सारौँ भनिरहेका छन्। तर केपी शर्मा ओलीले अर्ली इलेक्सन भन्दा प्रतिगमन हुने तर प्रचण्डले चुनाव सारौँ भन्दा अग्रगमन हुने हो र?
अर्कातिर माधव नेपालले पनि अहिले आएर संसद विघटनको प्रस्ताव अघि सारेको भन्दै पोखरेलले कटाक्ष गरे। माधवकुमार नेपालले एक दिन भनेछन्, एमालेले संसदमा नारा लगाइरह्यो, अब संसद भंग गरौँ, उनले भने, त्यही काम केपी ओलीले गर्दा बेठीक तर त्यही कुरा आफूले गर्न खोज्दा ठीक हुने भन्ने यो कस्तो राजनीतिक चरित्र हो ?