६ चैत्र, विराटनगर ।
एमसीसी राष्ट्र हितका लागि रहेकाले प्रस्ताव पेस गरेको गृहमन्त्री बालकृष्ण खाँणले बताएका छन्।
विद्युतीकरण, बाटो निर्माणका लागि एमसीसी प्रस्ताव पेस गरेको बताउँदै उनले यसले देशमा विकास हुने जिकिर गरे । नेपाली कांग्रेस रामपुर नगरपालिका पाल्पाले शनिबार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, एमसीसी नेपालका लागि फाइदाजनक छ ।
यसका कारण देशमा रोजगारी बढ्नेछ, गरिबी हट्ने र अन्तर्राष्ट्रिय व्यापार बढ्ने छ । कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका गृहमन्त्री खाँणले एमसीसीका विषयमा भएका गलत प्रचार र भ्रमलाई अन्त्य गर्न जरुरी रहेकामा जोड दिए । उनले भने, स्थानीय तहको निर्वाचन हुन्छ । सरकार निर्वाचनका तयारीमा लागेको छ ।
यही सरकारले नै स्थानीय, प्रदेश र सङ्घ सरकारको निर्वाचन गराउने छ । (रासस)