बक्यौता नतिर्ने सात एयरलाइन्स कम्पनीविरुद्ध कारबाहीको तयारी

बक्यौता नतिर्ने सात एयरलाइन्स कम्पनीविरुद्ध कारबाहीको तयारी

६ चैत, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले बक्यौता नतिरेका सात एयरलाइन्सविरुद्ध कारबाहीको तयारी गरेको छ ।

अहिले सञ्चालनमा नरहेका तर बक्यौता फरफारक गर्न बाँकी रहेका सात कम्पनीलाई प्राधिकरणले सात दिनको समयावधि दिएर प्राधिकरणको रकम तिर्न ताकेता गरेको छ ।

ती कम्पनीमा नेकोन एयर, शिवानी एयर, गोरखा एयर, माउन्टेन एयर, कस्मिक एयर, स्काइलाइन एयरवेज र एयर काष्ठमण्डप रहेका छन् । यी कम्पनीहरु अहिले सञ्चालनमा भने छैनन् ।

आइतबार एक सूचना निकाल्दै प्राधिकरणले यस्तो ताकेता गरेको छ । प्राधिकरणको बक्यौता नतिरेमा सरकारी बाँकी सरह असुल उपर गर्ने कानुन अनुसार सञ्चालकहरुको जायजेथाबाट असुल उपर हुन सक्ने प्रावधान रहेको छ ।

यसबाहेक विमानस्थल सेवा शुल्क नियमावली अनुसार ती सञ्चालक तथा कम्पनीले भविष्यमा हवाई सेवा, विमानस्थल तथा प्राधिकरणसँग सम्बन्धित कुनै पनि प्रकारको सेवा लिन नपाउने गरी कारबाही हुन सक्ने प्राधिकरणले चेतावनी दिएको छ ।

प्राधिकरणले ती कम्पनीलाई तोकिएको अवधिमा बक्यौता नतिरेमा कालोसूचीमा समेत राख्ने भएको छ । प्राधिकरणले यी कम्पनीहरुविरुद्ध यसअघि समेत सूचना निकालेर ताकेता गरिसकेको छ ।

कुन कम्पनीको कति बक्यौता ?

नेकोन एयरको ४ करोड ७२ लाख २५ हजार ३४३ रुपैयाँ, शिवानी एयरको ५५ लाख ५१ हजार ५३ रुपैयाँ, गोरखा एयरको २० लाख ३५ हजार २९ रुपैयाँ, माउण्टेन एयरको ६ लाख १० हजार ८३४ रुपैयाँ, कस्मिक एयरको ३ करोड ४७ लाख ५८ हजार ७० रुपैयाँ, स्काइलाइन एयरवेजको ७ लाख ८० हजार ४०० रुपैयाँ र एयर काष्ठमण्डपको ७ लाख ३८ हजार ४४७ रुपैयाँ बक्यौता रकम कम्पनीहरुले तिर्न बाँकी रहेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.