७ चैत्र, काठमाडौं ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग कांग्रेसलाई नपर्खी चुनावी गठबन्धनको तयारीको प्रस्ताव गरेका छन् ।
काठमाडौँको शंखरापुर नगरपालिकाको साँखुमा सोमबार भएको कार्यकर्ता भेटघाट कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष नेपालले आफूलाई बिहान (सोमबार) प्रचण्डले टेलिफोन गरेर चुनावी गठबन्धनबारे तयारी थाल्न आग्रह गरेको बताएका हुन्।
कार्यकर्तालाई जस्तै आफूहरुलाई पनि गठबन्धनको चिन्ता रहेको उनले बताए। उनले भने, ‘कांग्रेसमा गठबन्धनलाई लिएर स्पष्ट दुई धार रहेको अवस्थामा प्रचण्डजीले तयारी थाल्न आग्रह गर्नुभएको हो।’
कांग्रेसको शेरबहादुर देउवा र रामचन्द्र पौडेल पक्ष गठबन्धन गर्नुपर्ने पक्षमा छ भने शेखर कोइराला खेमा गठबन्धन नगरी एक्लै चुनाव लड्नुपर्ने अडानमा छ। ‘प्रचण्डजीको प्रस्तावको अर्थ सत्ता गठबन्धनले चुनावी तालमेल गर्दैन भन्ने होइन। कांग्रेस तयार नहुँदासम्म हामी मिलेर तयारी गरौँ भन्ने हो’, उनले भने।
देउवाले गठबन्धनको विपक्षमा रहेका पार्टीका नेताहरुलाई विगत हेरेर अघि बढ्न आग्रह गरिरहेको पनि उनले बताए। देउवाले विभिन्न समयमा आफूले लगाएको गुण नबिर्सने पनि बताउने गरेको नेता नेपालले उल्लेख गरेका छन्।
यसैबीच राष्ट्रिय जनमोर्चा गठबन्धनमा फर्किने पनि उनले बताएका छन्। जनमोर्चा सांसद दुर्गा पौडेलले आफूलाई टेलिफोन गरेर आफूहरु गठबन्धनमा फर्किन चाहेको बताएको र त्यसबारे छलफल भएको बताए।
एमसीसी सदनबाट पारित भएपछि जनमोर्चाले गठबन्धनबाट बाहिरिएको घोषणा गरेको थियो। तर उसले सरकारलाई दिएको समर्थन फिर्ता गरेको थिएन। चुनावी तालमेलको क्रममा जनमोर्चा पनि गठबन्धनमा आउने नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष नेपालले बताएका हुन्।