८ चैत्र, काठमाडौं ।
नेपालले आज आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत पपुवा न्युगिनीविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भर्खर सम्पन्न टसमा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । नेपालले आजको खेलमा दुई परिवर्तन गरेको छ । नेपालले तीव्र गतिका बलर विक्रम सोब र ज्ञानेन्द्र मल्ललाई बेन्चमा राखेको छ ।
युवा ब्याटर भीम सार्कीलाई नेपाली टोलीमा डेब्यू दिएको छ । भीमले घरेलु क्रिकेटमा पछिल्लो समय राम्रो प्रदर्शन गर्दै आएका छन् । उनले मध्यक्रममा ब्याटिङ गर्नुको साथै पार्टटाइम स्पिनरका विकल्प हुन् । आसिफलाई नेपालले युएईसँगको खेलमा बेन्चमा राखेको थियो । आसिफ र कुशलले ओपनिङ गर्दा भीमले सम्भव त ज्ञानेन्द्र मल्लको तेस्रो स्थान लिनेछन् ।
नेपाल पछिल्ला दुबै खेलमा घरेलु टोली युएईसँग ४८ रन र ९९ रनले पराजित भएको थियो । ब्याटिङमा नेपालको प्रदर्शन सम्झन लायक छैन । पपुवा न्युगिनीले युएईलाई ६ विकेटले हराउँदै आइसिसी विश्वकप लिग–२ मा पहिलो जित हात पारेको थियो । नेपालसँग पहिलो खेलमा २ विकेटले पराजित भएको थियो ।
लगातार खराब ब्याटिङ गर्दै आएको नेपालमाथि पपुवा न्युगिनी जित निकाल्ने सोचमा हुनेछ । पछिल्लो खेलमा युएईलाई हराएको हुँदा पपुवा न्युगिनीको मनोबल उच्च छ । नेपालको शीर्ष चार ब्याटरको प्रदर्शन सम्झन लायक छैन ।
कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी र आसिफ शेख चारै खेलाडी लगातार खराब सटका साथ आउट हुँदै आएका छन् । शीर्ष चार ब्याटरलाई जिम्मेवारीका साथ ठूलो इनिङ खेल्न आवश्यक देखिन्छ । पपुवा न्युगिनीका कप्तान असाद भाला र चाल्र्स अमिनी प्रमुख हतियार हुन् ।
युएईलाई हराउन भालाले ६८ रनको इनिङ खेलेका थिए । अमिनीले ३६ रन जोडेका थिए । पपुवा न्युगिनी ओपनर टोनी उरा लेगा सियाकाबाट उत्कृष्ट सुरुवात चाहन्छ । सेसे बाउ र नर्मन भानुवा तल्लोक्रममा राम्रो ब्याटिङको क्षमता राख्छन् ।
युएईलाई हराउन तीव्र गतिका बलर एली नाओले १० ओभरमा २७ रन खर्चेर ४ विकेट लिएका थिए । चाद सोपरले ३ र राइली हेकुरेले २ विकेट लिएका थिए । पपुपा न्युगिनीका यी तीन नै प्रमुख बलर हुन् । नेपाल र पपुवा न्युगिनीबीच तीन ओडिआई खेल भएको छ । तीनै खेलमा नेपाल विजयी भएको छ ।
यसअघि गत सेप्टेम्बरमा नेपालले ओमानमा पपुवा न्युगिनीसँग दुई अोडिआई सिरिज १ सय ५१ रन र २ विकेटले पराजित भएको थियो ।