लेटाङमा कर्फ्यु जारीः प्रहरी मारिएको घटनामा ८ जना पक्राउ

लेटाङमा कर्फ्यु जारीः प्रहरी मारिएको घटनामा ८ जना पक्राउ

८ चैत्र, विराटनगर ।

एक महिला प्रहरीको ज्यान जानेगरी मोरङको लेटाङमा भएको घटनामा संलग्न भएको आशङ्कामा ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सोमबार बेलुकासम्मम ८ जनालाई अनुशन्धानका लागि पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ । यस्तै प्रशासनले आव्हान गरेको कफ्र्यु आदेशको उल्लंघन गर्ने अन्य १२ जनालाई पनि प्रहरीले पक्राउ गरेको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताएका छन् । उनीहरुलाई भने सोमबार साझ नै छाडिएको छ ।

स्थानीय विद्यालयमा अध्ययनरत बालिकामाथि यौन दुव्र्यवहार गरेको आरोप लागेका शिक्षकलाई पक्राउ गरी कारबाही गर्नुपर्ने माग गर्दै आक्रोशित स्थानीयले प्रहरीमाथि आइतबार साँझ आक्रमण गरेका थिए । दोषीलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउने प्रहरीले बताउँदा बताउँदै पनि भीड एक्कासी प्रहरीमाथि जाइ लागेको थियो ।

जसका कारण प्रहरी जवान उर्मिला श्रेष्ठको हत्या भएको छ भने २५ बढी प्रहरी तथा ७ जना सर्वसाधारण घाइते भएका छन् । उक्त घटनालगत्तै सोमबार लेटाङमा पुगेर प्रदेश १ का प्रहरी प्रमुख डिआइजी अरुणकुमार बिसी, मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल, मोरङ प्रहरीका उच्च पदस्थ अधिकारी तथा सशस्त्र प्रहरीका अधिकारीको टोलीले घटनाको स्थलगत जानकारी लिएको छ ।

आइतबारको झडपपछि स्थिति तनावपूर्ण बनेपछि सोमबार बिहान ७ बजेदेखि अर्को आदेश जारी नहुन्जेल सम्मका लागि जिल्ला प्रशासन कार्यालय मोरङले जारी गरेको कर्फ्यू आदेश अझै यथावत छ । प्रमुख जिल्ला अधिकारी दाहालले लेटाङको वडा ३ र ४ को पश्चिम एरिया गंगे चोक र कमलपुर क्षेत्र, ५ वडाको सबै क्षेत्र, उत्तरमा लेटांगको ६ नम्बर वडा कार्यालय क्षेत्र, पूर्वमा मोरंङे खोला क्षेत्र, पश्चिममा चिस्याङ खोला क्षेत्रमा कर्फ्यू जारी राखिएको जानकारी दिएका छन् ।

आज जिल्ला सुरक्षा समितिको बैठक बसेर कर्फ्यू यथावत राख्ने कि हटाउने भन्ने विषयमा निर्णय गरिने प्रमुख जिल्ला अधिकारी दाहालले बताएका छन् । कफ्र्यु आदेश जारी भएको लेटाङमा अहिले बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

अहिले त्याहाको अवस्था सामान्य रहेको मोरङ प्रहरीले जनाएको छ । केही दिन अघि मात्रै पनि लेटाङमै एक नावालिकाको बलात्कारपछि हत्या भएको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.