ओलीको देश विकासको भिजन र विचार मनपर्योः करिश्मा मानन्धर

ओलीको देश विकासको भिजन र विचार मनपर्योः करिश्मा मानन्धर

८ चैत्र, काठमाडौं ।
अभिनेत्री करिश्मा मानन्धरले एमाले अध्यक्ष केपी शर्मा ओलीको देश विकासको भिजन र विचार मन परेको बताएकी छन्।

मंगलबार काठमाडौंमा भएको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधनका क्रममा बोल्दै मानन्धरले यस्तो बताएकी हुन्। तपाईंहरुको मनमा लागेको होला कलाकार मान्छे पार्टीको मञ्चमा किन उभिएको होला ?, उनले भनिन्, कलाकारिताको क्षेत्रमा मैले तीन दशक बिताएकी छु। मिहिनेत र संघर्ष गरेकी छु।

राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा मलाई कलाकारका रुपमा चिनेका छन्। उनले कलाकारिता क्षेत्रमा पछाडि फर्किएर हेर्दा आफूले धेरै पाएको पनि बताइन्। पछाडि फर्केर हेर्दा मैले कलाकारिताबाट धेरै पाएकी छु। तर त्यो मात्रै सबैथोक हो र ? त्यो भन्दा अगाडि जाने पाइला छैनन् र ?, उनले भनिन्, दर्शक श्रोताको मायाले पनि करिश्मा मानन्धरले देशका लागि अझै केही गर्नुपर्छ भन्ने लागेको थियो। मैले पछिल्लो समय धेरै गर्न सक्छु भन्ने लागेको छ।

अभिनेत्री मानन्धरले आफ्नो क्षेत्रबाट मुलुकका लागि केही योगदान गरिरहे पनि अब राजनीतिबाट थप गर्ने पनि बताइन्। आफ्नो क्षेत्रको पक्षबाट मुलुकका लागि केही योगदान गरिरहेको छु। हाम्रो देशका लागि हामीले कतै न कतैबाट काम गरिरहेका छौँ, उनले भनिन्, मलाई अब राजनीतिबाट केही गर्ने अठोट छ। हुन त यसअघि पनि म दलमा थिएँ। अब मैले एमालेबाट राजनीतिमा अघि बढ्ने अठोट गरेकी छु।

उनले अध्यक्ष ओलीले चालेको मुलुकको समृद्धि अभियानलाई बलियो बनाउन आएको पनि बताइन्। मुलुकको समृद्धिका लागि आएकी छु। एमाले नै किन भन्ने प्रश्नको जवाफमा मसँग तीनवटा कुरा छन्, उनले भनिन्, म बसेको समाजमा अर्को पार्टीको मान्छेले पनि उहाँ (केपी ओली) को गुणगान गाउँछ।

उनले आफू एमालेमा कुनै पदका लागि सौदाबाजी गर्न नआएको पनि बताइन्। म एमालेमा सौदावाजी गर्न आएको होइन। एमालेले देशको परिवर्तनको एजेण्डा बोकेकाले त्यसलाई पछ्याउन आएकी हुँ, उनले भनिन्, म एमालेको नितान्त कार्यकर्ता हुन आएकी हुँ, मलाई कुनै लोभ छैन।

करिश्माले पार्टीले जिम्मेवारी दिए आफू त्यसलाई बोक्न तयार रहेको पनि बताइन्। म पदको लोभमा आएको भन्ने नबुझिदिनुहोला, उनले भनिन्, मेरो कामको मूल्याङ्कनका आधारमा पार्टीले जिम्मेवारी दिएमा म पछाडि हट्दिनँ। पार्टीका लागि आफ्नो तहबाट जिम्मेवारी पूरा गर्न कार्यकर्ताका रुपमा दत्तचित्त भएर लाग्नेछु।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.