संवैधानिक परिषद अध्यादेश र पदाधिकारी नियुक्तिविरुद्धको मुद्दामा संवैधानिक इजलासमा सुनुवाइ हुँदै

संवैधानिक परिषद अध्यादेश र पदाधिकारी नियुक्तिविरुद्धको मुद्दामा संवैधानिक इजलासमा सुनुवाइ हुँदै

९ चैत, काठमाडौँ । संवैधानिक परिषद सम्बन्धी अध्यादेश र त्यसका आधारमा भएका नियुक्ति विरुद्धको मुद्दामा आज सर्वोच्च अदालतको संवैधानिक इजलासले सुनुवाइ गर्दैछ ।

गएको शुक्रबार संवैधानिक इजलासबाट आजका लागि पेसी तोक्ने आदेश भएको थियो । संवैधानिक इजलासले दुवै पक्षलाई एक÷एक घण्टा समय दिएको छ ।

यो समय अपुग भए दुवै पक्षले आधा/आधा घण्टाको थप समय पाउनेछन् । संवैधानिक इजलासमा कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू मिरा खड़का, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ र ईश्वरप्रसाद खतिवडा रहेका छन् ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले उपस्थित बहुमत पदाधिकारीले निर्णय गर्न सक्ने गरी संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएको थियो । अध्यादेश बमोजिम संवैधानिक निकायमा पटक पटक गरी ५२ पदाधिकारी नियुक्तिको सिफारिस भएको थियो ।

यसअघि संवैधानिक परिषदको सदस्यका हैसियतले नियुक्तिकर्ता भएकाले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले यी रिटमा सुनुवाइ गर्न नमिल्नेबारे विवाद भएको थियो ।

जबराले यी रिटको सुनुवाइबाट अलग हुने मौखिक घोषणा गरे पनि संवैधानिक इजलासमा प्रधानन्यायाधीश हुनैपर्ने संवैधानिक व्यवस्था भएको भन्दै परेको अर्को रिटमाथि भदौमा आदेश गर्दै न्यायाधीश हरि फुयाँलको एकल इजलासले यी रिटको सुनुवाइ रोक्न आदेश दिएको थियो ।

ओलीको पालामा संवैधानिक परिषदको सिफारिसमा नियुक्त भएका ५२ जना पदाधिकारीको नियुक्ति खारेजीको माग गर्दै अधिवक्ता डा. गणेश रेग्मीले रिट निवेदन दर्ता गरेका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.