निर्वाचन मर्यादित बनाउन दलहरुले आचारसंहिता पूर्ण पालना गर्नुपर्छः प्रमुख आयुक्त थपलिया

निर्वाचन मर्यादित बनाउन दलहरुले आचारसंहिता पूर्ण पालना गर्नुपर्छः प्रमुख आयुक्त थपलिया

९ चैत्र, मोरङ ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउन राजनीतिक दलले आचारसंहिताको पूर्ण पालना गर्नुपर्ने बताएका छन्।

निर्वाचन आयोग र नेपाल कानुन समाजद्वारा आज यहाँ आयोजित ‘स्थानीय तह निर्वाचन–२०७९ निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन र सरोकारवालाको भूमिका’ विषयक अन्तरक्रियामा उनले यसपटकको निर्वाचनलाई खर्चिलो र भड्किलो हुन नदिन आचारसंहिता पालनाको विषय कडाइका साथ कार्यान्वयन गरिने धारणा राखे।

प्रमुख आयुक्त थपलियाले निर्वाचनमा हुने आचारसंहिता उल्लङ्घन गर्ने प्रवृत्तिलाई निस्तेज पार्न राजनीतिक दल एवं नागरिक समाजको सहयोग आवश्यक रहेको बताए। उनले आयोगले प्रत्येक स्थानीय तहमा आचारसंंहिता कार्यान्वयनका लागि समिति गठन गरेर अनुगमन गरिने व्यवस्था मिलाउन लागेको जानकारी दिए।

उनले लोकतन्त्रको रक्षा गर्दै शासकीय पद्धतिको सुधारका लागि राजनीतिक दलले आचारसंहिता पालनामा नैतिकता र इमान्दारिता देखाउन आवश्यक रहेको विचार व्यक्त गरे। उनले आचारसंहिता उल्लङ्घन गर्ने दल, उम्मेदवार, सर्मथकमाथि स्थानीय समुदायले खबरदारी गर्नुपर्ने आवश्यकतामाथि जोड दिए।

प्रमुख आयुक्त थपलियाले विगतको निर्वाचनमा आचारसंहिता पालना नभएको विषयमा व्यापक जनगुनासो आएको चर्चा गर्दै आयोगले यसपटकको निर्वाचनमा आचारसंंहिता कार्यान्वयनमा नयाँ रणनीति कार्यान्वयन गर्न लागेको बताए।(रासस)

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.