९ चैत्र, काठमाडौं ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले नेपालको शिक्षालाई सुधार गर्न सके मात्रै अन्य क्षेत्रहरुमा सुधार आउने बताएका छन् ।
बुधवार निजी तथा आवासिय विद्यालय अर्गनाइजेशन, नेपाल(प्याब्सन)को १५ औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गदै मन्त्री पौडेलले शिक्षा क्षेत्रको सुधार गर्न सकेमा अन्य क्षेत्रमा स्वत्ः सुधार हुने बताएका हुन् ।
देशको समृद्धिको पहिलो ढोका शिक्षा हो
उनले देशको समृद्धिको निम्ति शिक्षा पहिलो ढोका भएको बताए । शिक्षामा सुधार गर्ने देशहरुले मात्रै अन्य क्षेत्रमा प्रगति गर्न सकेको उहाँले बताउनुभयो । मन्त्री पौडेलले शिक्षा सेवाको क्षेत्र भएको उल्लेख गर्दै शिक्षालाई देशको समृद्धिको निम्ति प्रयोग गर्नुपर्नेमा जोड दिए ।
उनले भने – ‘हामी नेपालीहरु भौतिक समृद्धि र आत्मिक समृद्धिको खुशीमा अगाडी बढ्नु छ र त्यसको निम्ति पहिलो ढोका भनेको शिक्षा हो । खुशी हुने ढोका । शिक्षा भएन भने देशको अरु कुराको सुधारको सम्भावना छैन । जुन देशले शिक्षामा सुधार ग¥यो त्यो देशले अरु क्षेत्रमा प्रगती गरेको हामी पाउँछौँ ।
देशको समग्र समृद्धिको निम्ति सक्षम इन्जिनियर, सक्षम डाक्टर, सक्षम शिक्षक, सक्षम प्राध्यापक चाहियो । सक्षम व्यक्ति र व्यक्तित्वहरुको आवश्यकता हुन्छ । र हामी भौतिक समृद्धिको बाटोतर्फ अगाडी बढ्न सक्छौँ । र त्यो भौतिक समृद्धि प्राप्त गर्नको निम्ति शिक्षा नभइ नहुने महत्वपूर्ण विषय हो ।
हामी सबैलाई थाहा छ शिक्षा सेवा हो । शिक्षा वस्तुको व्यापार होइन । स्वास्थ्य र शिक्षा भनेको संविधानले लेखे अनुरुप नागरिकले प्राप्त गर्ने मौलिक हकको रुपमा सचीकृत भएको विषय हो ।
र यो शिक्षालाई हामी सेवामुलक राष्ट्र निर्माण गर्ने, समृद्धि निर्माण गर्ने, सक्षम नेपाली निर्माण गर्ने एउटा अभियानको रुपमा शिक्षालाई प्रयोग गर्न सक्यौँ । शिक्षालाई सुधार गर्न सक्यौँ भनेदेखि देशका अरु क्षेत्रहरु स्वत्ः सुध्रिन्छन् । यही कुरामा हामी अगाडी बढ्नु छ ।’
सक्षम जनशक्ति उत्पादन गर्ने शिक्षा चाहियो
मन्त्री पौडेलले देशलाई सक्षम जनशक्ति उत्पादन गर्ने शिक्षा आवश्यक रहेको बताए । शिक्षालाई सिपमा बदल्दै रोजगारसँग जोड्ने शिक्षा आवश्यक रहेको उनको भनाई छ । उनले व्यवहारिक, वैज्ञानिक र उत्पादनमूलक शिक्षा हुनेगरी पाठ्यक्रम बनाउनुपर्ने बताए ।
उपदेश दिने शिक्षा देशलाई आवश्यक छैन्
उनले भने – ‘अदक्ष जनशक्ति उत्पादन गरेर थुप्रो लगाउने थलोको रुपमा होइन, सक्षम जनशक्ति उत्पादन गर्ने, देशलाई समृद्धिसँग जोड्ने, जीवनसँग जोड्ने । गफ गरेर अरुलाई उपदेश गर्ने शिक्षाको हाम्रो देशजस्तो विकाशोन्मुख देशमा आवश्यक छैन ।
हाम्रो देशमा शिक्षा ग्रहण गर्ने, त्यसलाई सिपमा बदल्ने, सिपलाई रोजगारमा जोड्ने, र शिक्षा, सिप र सिकाइलाई समृद्धिसँग जोड्ने । हामीलाई जे चाहिने हो त्यही कुरालाई सम्बोधन गर्नेगरी हाम्रा पाठ्यक्रमहरुलाई संविधानको भाषा अनुरुप संविधानमा तिनवटा शब्द छ, शिक्षालाई वैज्ञानिक बनाउँ, शिक्षालाई व्यवहारिक बनाउँ र शिक्षालाई उत्पादनमुलक बनाउँ ।
संविधानको भाषा यो हो नि अहिले । त्यसमा अगाडी बढाउनको निम्ति हामी सबैको साझा संकल्पको आवश्यकता छ ।’
मन्त्री पौडेलले शिक्षामा संरचनागत र नीतिगत सुधार आवश्यक रहेको भन्दै त्यसको सुधारका लागि मन्त्रालयले काम गरिरहेको उल्लेख गरे ।