प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट दुरुपयोग भयोः प्रकाशशरण महत

प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट दुरुपयोग भयोः प्रकाशशरण महत

१३ चैत, काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट दुरुपयोग भएको बताएका छन् ।

नुवाकोटको शिवपुरी गाउँपालिकाद्वारा निर्मित भवनको हिजो उद्घाटन कार्यक्रममा बोल्दै उनले यस कार्यक्रमको १९÷२० अर्ब रकमको व्यापक दुरुपयोग भएको र यसबाट कुनै रोजगारी सिर्जना नभएको बताएका हुन् ।

ओली सरकारले आफ्ना कार्यकर्तालाई रकम बाँड्नलाई मात्र यो कार्यक्रम ल्याएको र मनपर्दो ढङ्गबाट सो आयोजनाको रकम बाँडेर सकिएको उनको आरोप थियो ।

प्रवक्ता महतले यस आयोजनाको रकम बाँड्ने क्रममा तिमी कुन पार्टीको मान्छे हो भनेर सोधेरै आफ्नो पार्टीका मान्छेलाई मात्र रकम दिने गरिएको बताए ।

कुनै पारदर्शी योजनाबिना नै यस्तो आयोजना ल्याइएको र सडकको फोहर टिप्ने तथा झार उखेल्ने काम लगाएर आफ्ना कार्यकर्तालाई रकम बाँडिएको उनले बताए ।

उनले ओली सरकारका पालमा कयौँ अनियमिता भएका र जसका कारण देश आर्थिकरूपमा तहसनहस हुन पुगेको बताए ।

भ्रष्टाचार, अनियमितता तथा कम्युनिष्ट सरकारका अनेक ज्यादतिका कारण नागरिक अत्तालिएर कांग्रेसको नेतृत्वमा सरकार खोजेका र वर्तमान सरकार निर्माण भएको उनले बताए ।

उनले आगामी सबै निर्वाचनहरूमा नेपाली कांग्रेस नै पहिलो पार्टी हुने भन्दै यसका लागि कांग्रेसका कार्यकर्तालाई एकजुट भएर लाग्नु पनि आग्रह गरे । (रासस)

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.