काठमाडौं, २५ चैत । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई आगामी संसदीय चुनावमा तीन सिट ल्याएर देखाउन चुनौति दिएका छन् ।
‘माधव नेपाल २२/२३ सिट ल्याउने हुती भएको मानिस हो ?’ शुक्रबार काठमाडौंमा पार्टीनिकट राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालको चौथो राष्ट्रिय महाधिवेशनमा ओलीले भने, ‘अब तीन सिट ल्याएर देखाउन् त ।’
एकीकरणको बेला आफूले ५४ सिट दिएको प्रचण्ड र २३ सिट दिएको माधव नेपालले त्यसको दुरुपयोग गरेर पार्टी फुटाउने काम गरेको उनको आरोप छ ।
नागरिकको हैसियतले सरकारले गरेका राम्रा कामको समर्थन र नराम्रा कामको विरोध गर्न स्वास्थ्यकर्मीहरूले सक्नुपर्ने ओलीले बताए ।
मेडिकल कलेज र इन्जिनियरिङ कलेज खोल्नै नदिन मतियारहरू सक्रिय रहेको ओलीको भनाइ थियो । डा. गोविन्द केसीप्रति संकेत गर्दै उनले ‘म नखाऊ भनेपछि सरकार थरर काम्ने’ गरेको टिप्पणी गरे ।