विराटनगर, २७ चैत । आगामी ३० वैशाखमा हुने स्थानीयतहको निर्वाचनमा विराटनगरको मेयर पदमा उम्मेदवार बन्न नेकपा (एमाले) बाट पाँच जना आकांक्षी देखिएका छन् ।
विराटनगर महानगरको मेयर पदको उम्मेदवार वन्न विराटनगर महानगर कमिटीका अध्यक्ष सागर थापा, जिल्ला कमिटी उपाध्यक्ष बाबुराम कार्की, प्रदेश कमिटी सदस्यहरु पशुराम बस्नेत, महेश भट्टराई र केन्द्रीय सदस्य रामलाल साहले दावेदारी प्रस्तुत गरेका हुन् । उम्मेदवार सिफारिस गर्न बसेको महानगर कमिटीको बैठकमा पाँच जनाले आकांक्षा देखाएपछि सर्वसम्मत हुन सकेन ।
धेरैले आकांक्षा देखाएका कारण सर्वसम्मत हुन नसकेपछि पाँचै जनाको नाम सिफारिस गरेर जिल्ला कमिटीमा पठाउने निर्णय गरिएको एमाले विराटनगर महानगर कमिटी अध्यक्ष थापाले जानकारी दिए ।
उनका अनुसार उपप्रमुखको उम्मेदवारमा पनि तीन जनाले दावेदारी प्रस्तुत गरेका छन् । उपप्रमुखमा शिल्पा कार्की, बिमला घिमिरे दाहाल र अन्जु उपाध्यय ले दावेदारी प्रस्तुत गरेपछि जीनै जनाको नाम सिफारिस गरिएको अध्यक्ष थापाले बताए ।
मेयर र उपमेयरमा एक÷एक जनाको जना मात्र सिफारिस गर्ने योजना रहेपनि सर्वसम्मत हुन नसकेपछि आकांक्षी सवैको नाम जिल्ला कमिटीलाई पठाइएको अध्यक्ष थापाले जानकारी दिए ।
महानगर कमिटीको बैठकले तीन वटा वडाको सर्वसम्मत उम्मेदवार छनौट गरेको छ । विराटनगर–१० मा अर्जुन गिरी, वडा नम्बर–११ मा तिर्थेन्द्र न्यौपाने र १९ नम्बर वडामा श्याम घिमिरेलाई वडाअध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
ती वडामा वडा सदस्यका उम्मेदवारहरु पनि सर्वसम्मत छनौट भएको महानगर कमिटी अध्यक्ष थापाले बताए । अन्य वडाको पनि केही दिनभित्र सर्वसम्मत उम्मेदवार टुंगो लगाइने अध्यक्ष थापाले बताए ।