बाँके, बैशाख १ । बाँकेका चार स्थानीय तहमा गठबन्धन दलहरूबीचै मुख्य प्रतिस्पर्धा रहेकाले चुनावी तालमेलको औचित्य नरहेको भन्दै जनता समाजवादी पार्टी (जसपा) गठबन्धनबाट बाहिरिएको छ ।
जसपा जिल्ला अध्यक्ष कमरुद्धिन राई स्वयम् नेपालगञ्ज उपमहानगरको मेयरमा उठ्दैहुनुहुन्छ । बाँकेका चार पालिकामा गठबन्धन दलहरूबीचै प्रतिस्पर्धा हुने भएपछि स्वस्थ प्रतिस्पर्धा गर्नेगरी तालमेल नगर्ने टुंगोमा पुगेको उहाँ बताउँनुहुन्छ । २०७४ को स्थानीय चुनावमा नरैनापुर गाउँपालिका जसपाले जितेको थियो । डुडुवा र नेपालगञ्जमा कांग्रेससँग मुख्य प्रतिस्पर्धामा रहेको र जानकी गाउँपालिका एमालेले जित्दा कांग्रेस र जसपा क्रमशः दोस्रो र तेस्रो स्थानमा थिए ।
त्यस्तै, राप्तीसोनारी गाउँपालिकामा कांग्रेस र माओवादी केन्द्र मुख्य प्रतिस्पर्धामा थिए । ‘हामी प्रतिस्पर्धामा रहेका पालिकामा एक्लाएक्लै लडौँ । एमालेले जितेका चार पालिकामा गठबन्धन बनाएर लडौँ भन्दा कांग्रेस र माओवादीका साथीहरूले मान्नुभएन’, जसपा जिल्ला अध्यक्ष कमरुद्धिन राई भन्नुभयो, ‘त्यसैले हामी गठबन्धन नगरी एक्लै चुनाव लड्ने निर्णयमा पुग्यौँ ।’बाँकेमा गठबन्धन दलहरूलाई भागवण्डा मिलाउन असजिलो भइरहेको छ ।
कांग्रेसले नेपालगञ्ज, कोहलपुर, राप्तीसोनारी र डुडुवा पालिका नछाड्ने अड्डी लिएको छ । माओवादी केन्द्र खजुरा, कोहलपुर र राप्तीसोनारी छाड्न नसक्ने भन्दै आएको छ । त्यस्तै, नेकपा एसले बैजनाथ गाउँपालिकामा दाबी गरिरहेको छ । यस्तोमा सबैलाई भाग मिलाएर गठबन्धन कायम गर्नु चुनौतीपूर्ण रहेको कांग्रेस सभापति नारायण गौडेल बताउनुभयो। ‘कुरा मिल्यो भने धेरै समय लाग्दैन ।
केन्द्रीय नीतिअनुरुप गठबन्धनलाई जोगाउन अन्तिम अवस्थासम्म हामी प्रयत्नशील छौँ’, उहाँले भन्नुभयो । जसपा अध्यक्ष राई भने प्रदेश र संघको चुनावमा जस्तो स्थानीय तहमा चुनावी गठबन्धन सहज नभएको बताउँनुहुन्छ उहाँले भन्नुभयो, ‘यस्तो गठबन्धनको औचित्य देखिँदैन । यसले अनावश्यक रूपमा मत बदर बनाउने र पार्टी कमजोर पार्ने काम मात्र गर्छ ।’
जसपा सचिव एवं बाँके २ का सांसद इस्तियाक राई गठबन्धनका दलहरूले आफ्नो पार्टीलाई २०७४ सालकै जनमतको आँखाबाट हेरेर व्यवहार गर्न खोज्दा कुरा बिग्रिएको बताउँछन् । ‘गठबन्धनकै पार्टीले जित्ने ठाउँमा तालमेल गर्नुपर्दैन । एमालेले जितेका ठाउँमा मात्र गठबन्धन गरौँ भनेका हौँ’, उहाँ भन्नुभयो, ‘त्यही राय माइन्युटमा लेखाएर हामी गठबन्धनबाट बाहिरिएका छौँ । त्यसको जानकारी पार्टी केन्द्रलाई पनि भइसकेको छ ।’