जनकपुर, ३ वैशाख । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलीयाले स्थानीय तहको मिति तलमाथि भए मुलुक दुर्घटनामा फस्ने बताएका छन् ।
जनकपुरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै थपलियाले स्थानीय चुनावको मिति तलमाथि गर्न नहुने बताएका हुन् । ‘निर्वाचनको मिति तलमाथि गर्नु भनेको दुर्घटना निम्त्याउनु हो,’ उनले भने ।
निर्वाचन आचारसंहिता नैतिक र कानुनी बन्धन रहेकाले आचारसंहितालाई सामान्य रूपमा नलिन उनले आग्रह गरेका छन् । ‘मतदातालाई बहकाउमा पार्ने र निर्वाचनप्रति भ्रम फैलाउने सूचनाबाट निर्वाचन प्रभावित हुने भएकाले यसप्रति सबै सजग हुनुपर्छ,’ उनले भने ।
निर्वाचन आयोग ३० वैशाखमै निर्वाचन गराउन प्रतिबद्ध रहेको उनको भनाइ छ । २०७९ निर्वाचन वर्ष रहेकाले यही वर्षभित्रै स्थानीय, प्रदेश, प्रतिनिधिसभा, राष्ट्रियसभा निर्वाचनपछि राष्ट्रपति निर्वाचित हुने उनले बताए ।