काठमाडौं, ४ वैशाख । सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले स्थानीय तहको चुनावमा केन्द्रले सभा नगर्ने भएको छ ।
कोरोना महामारीका कारण संक्रमण फैलिने जोखिम भएकाले कांग्रेस केन्द्रले सभा नगर्ने भएको हो । वडा, टोल र पालिकास्तरमा मात्र कार्यक्रम गर्ने कांग्रेसले जनाएको छ ।
‘पार्टीको तहगत संरचनाले प्रचार समिति बनाएको छ । यसैले चुनाव प्रचार गर्छ,’ चुनावी घोषणापत्र निर्माण समितिका सदस्य गुरूराज घिमिरेले शिलापत्रसँग भने, ‘यसपटक केन्द्रले सभा गर्दैन । स्थानीयस्तरमा मात्र गर्ने हो ।’
टोलमा एक-दुई सयको उपस्थितिमा चुनावी कार्यक्रम गरिने उनले बताए । ‘ठूला भेला हुँदैनन् । टोल, वडादेखि पालिकासम्म एक-दुई सयको उपस्थितिमा कार्यक्रम हुन्छ,’ उनले भने, ‘पचास-सय जनाका लागि त राज्यले पनि छुट दिएको छ ।’