काठमाडौं, बैशाख ५ । आसन्न स्थानीय तहको निर्वाचनका लागि नेकपा (एमाले)ले जारी गर्ने घोषणापत्र र प्रतिबद्धतापत्र तयारीका लागि पार्टी निकट नेपाल बुद्धिजीवी परिषद्ले जिल्ला र पालिकास्तरमा सहजीकरण गरेको छ । एमालेले यही वैशाख ९ गते एकै दिन राष्ट्रियस्तरमा घोषणापत्र र सबै पालिकास्तरमा प्रतिबद्धतापत्र सार्वजनिक गर्दैछ ।
गत चैत १३ गते सम्पन्न एमाले स्थायी कमिटीको बैठकले घोषणापत्रमा सुझाव दिन सुझाव माग्ने निर्णय गरेको थियो भने चैत १६ गते अध्यक्ष केपी शर्मा ओलीले सबै पालिकाका नेता कार्यकर्तालाई भर्चुअलरुपमा सम्बोधन गर्नुभएको थियो । घोषणापत्र मस्यौदाका लागि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा समिति गठन गरिएकोे छ । यसैबीच निर्वाचनमा उम्मेदवारको छनोट प्रक्रिया र घोषणात्रबारे छलफल गर्न एमाले केन्द्रीय सचिवालयको बैठक आज बस्दैछ ।