काठमाडौं, ५ वैशाख । आगामी वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि सत्ता गठबन्धनका तीन दलबीच चुनावी तालमेल गर्ने भनिए पनि हुम्लामा भने गठबन्धन नहुने भएको छ ।
स्थानीय तहको नेतृत्वको भागबन्डा नमिलेपछि हुम्लामा सत्तारुढ दलले स्वच्छ प्रतिस्पर्धा गर्ने सहमति गरेको नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष शिवराज शर्माले बताए । वार्तामा सहभागी दलका अनुसार तीन दलबीच भएको बैठक गाउँपालिका बाँडफाँटमा कुरा मिल्न नसकेपछि स्थानीय आवश्यकताका आधारमा समीकरण गर्ने निर्णय भएको छ ।
सोमबार कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरूले स्वच्छ प्रतिस्पर्धा गर्ने सहमति गरेको माओवादी केन्द्र हुम्लाका संयोजक डा. दीपेन्द्र रोकायाले जानकारी दिए ।
कांग्रेस र माओवादी केन्द्रबीच गाउँपालिका बाँडफाँटमा कुरा नमिलेपछि बैठक उपलब्धिपूर्ण हुन नसकेको कांग्रेसका हुम्ला सभापति मोहनविक्रम सिंहले बताए ।
एकीकृत समाजवादीले राखेको कांग्रेस र माओवादीबीच तीन–तीन गाउँपालिका र एकीकृत समाजवादीलाई एक गाउँपालिका दिनुपर्ने प्रस्तावमा कांग्रेस सहमतिमा पुगे पनि माओवादीले चार वटा गाउँपालिका आफूले पाउनु पर्ने अडान राखेका कारण बैठकले भागबण्डा मिलाउन नसकेको कांग्रेस उपसभापति वसन्त रोकायाले बताए ।