सर्वाेच्चकाे आदेशपछि काममा फर्किएका गभर्नरले भने-पूर्वाग्रह राख्ने छैन

सर्वाेच्चकाे आदेशपछि काममा फर्किएका गभर्नरले भने-पूर्वाग्रह राख्ने छैन

काठमाडौं, ७ वैशाख । सर्वाेच्च अदालतकाे आदेशपछि काममा फर्केका नेपाल राष्ट्र बै‌ंकका गभर्नर महाप्रसाद अधिकारीले कसैप्रति पूर्वाग्रह नराखेर काम गर्ने बताएका छन् । उनले पूर्वाग्रह नराख्ने कुरामा आफू एकदमै सतर्क रहेकाे बताए । उनले आफूले सिस्टमका लागि काम गर्ने बताउँदै सिस्टम कायम रहाेस् भनेर आवाज उठाउने सबैलाई धन्यवाद दिन चाहेकाे बताए ।

‘हामी व्यक्तिभन्दा पनि एउटा संस्था हौँ । गर्भनर, राष्ट्र बैंक र अर्थ मन्त्रालय व्यक्ति होइनन् । यी संस्था हुन्,’ अधिकारीले भने, ‘विभिन्न घटना परिघटनाले यस्तो अवस्था ल्याउँछ । तर, हामीले आफ्नो जिम्मेवारी निर्वाह गर्ने क्रममा गर्नुपर्ने समन्वय हामी गर्छौं । त्यसमा कुनै आग्रह पूर्वाग्रह राखेर काम गर्ने भन्ने विषय हुँदैन । हामी त्यसमा सतर्क रहन्छौँ ।’

सर्वोच्चको आदेश आफ्नो लागिभन्दा पनि समग्र सिस्टमको लागि आएको उनकाे भनाइ थियाे । ‘यो समग्र सिस्टमको लागि आएको आदेश हो । यहाँहरूले पनि मेरो लागिभन्दा पनि सिस्टमको लागि भनेर लागि पर्नुभएको छ,’ उनले भने, ‘त्यसका लागि सबैलाई धन्यवाद र आभार प्रकट गर्दै म आफ्नो जिम्मेवारीमा फर्किन चाहन्छु ।’

आफूमाथि पूर्वाग्रही भएर अर्थमन्त्री जनार्दन शर्माले गैरकानुनी ढंगले जाँचबुझ आयोग गठन गरेको तथा आयोगमा उनको परिवारका सदस्य तथा पार्टी सदस्यहरू राखेको भन्दै अधिकारीले सो प्रक्रिया नै खारेजीको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

आफूलाई सहयोग नगरेको तथा अति गोप्य सूचना बाहिर पठाएको भन्दै गत २४ चैतमा मन्त्रिपरिषद् बैठकमार्फत अर्थमन्त्रीले गभर्नर अधिकारीलाई निलम्बन गराएका थिए । मन्त्रिपरिषद् बैठकले उनलाई निलम्बन गर्दै जाँचबुझका लागि सर्वोच्च अदालतका पूर्वन्यायाधीश पुरूषोत्तम भण्डारीको अध्यक्षतामा न्यायिक समिति बनाएको थियो । तर, सर्वाेच्चले योसँग सम्बन्धित कुनै पनि निर्णय कार्यान्वयन नगर्न भनेको छ । सर्वाेच्चले दुवै पक्षलाई छलफलका लागि १३ वैशाखमा बोलाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.