काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्व उपसभापति विमलेन्द्र निधिले मधेशमा नेपाली कांग्रेस सिध्याउने षडयन्त्र भएको आरोप लगाएका छन् ।
सत्तारुढ ५ दलीय गठबन्धनले महानगर र उपमहानगरको नेतृत्वबारे गरेको भागबण्डाप्रति लक्षित गर्दै नेता निधिले मधेशमा कांग्रेस सिध्याउने प्रयास भएकोतर्फ सचेत रहन आग्रह गरेका हुन् ।
सत्ता गठबन्धनले आज गरेको सहमतिअनुसार मधेश प्रदेशमा रहेको वीरगञ्ज महानगरपालिकाको प्रमुख जसपाले पाउने भएको छ ।
त्यस्तै जनकपुर उपमहानगरपालिकाको नेतृत्व पनि जसपाले पाउने भएको छ । मधेशका महत्त्वपूर्ण महानगर र उपमहानगरको नेतृत्व सुम्पिनुले कांग्रेसलाई कमजोर बनाउने निधिको भनाई छ ।
उनले कांग्रेसको आधार भूमिका रूपमा रहेको मधेश प्रदेश जसपालाई जिम्मा लगाउने गरी गठबन्धनले निर्णय गरेको आरोप लगाए ।
‘मधेशमा कांग्रेसलाई कमजोर बनाउने र जसपालाई बलियो बनाउने काम भएको छ । गठबन्धनको भागबण्डा अराजनीतिक र कांग्रेसविरुद्ध छ’, निधिले भने ।
उनले गठबन्धनका नाममा गरिएको भागबण्डाले मधेशसँगै देशका अन्य प्रदेशका नेता कार्यकर्ताहरूको पनि योगदानको अवमूल्यन गरेको टिप्पणी गरेका छन् ।