तनहुँको म्याग्दे गाउँपालिकाको अध्यक्षमा एमालेका श्रीप्रसाद श्रेष्ठ निर्वाचित

तनहुँको म्याग्दे गाउँपालिकाको अध्यक्षमा एमालेका श्रीप्रसाद श्रेष्ठ निर्वाचित

२ जेठ, तनहुँ । तनहुँको म्याग्दे गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका जिल्ला अध्यक्ष श्रीप्रसाद श्रेष्ठ निर्वाचित भएका छन् ।

नेपाली कांग्रेसकी उम्मेदवार निवर्तमान अध्यक्ष मायादेवी रानालाई ७१८ मतान्तरले पराजित गर्दै श्रेष्ठ निर्वाचित भएका हुन् । श्रेष्ठले चार हजार ९५० ल्याए भने रानाले चार हजार २३२ मत ल्याइन् ।

२०७४ सालको निर्वाचनमा काङ्ग्रेसकी राना अध्यक्षमा विजयी हुँदा श्रेष्ठ पराजित भएका थिए ।

उपाध्यक्षमा नेपाली काङ्ग्रेसका बालकृष्ण घिमिरे पाँच हजार ३९ मत प्राप्त गरी निर्वाचित भएका छन् । प्रतिस्पर्धी नेकपा एमालेका रत्नादेवी घिमिरेले चार हजार दुई सय मत प्राप्त गरिन् ।

घिमिरे दोस्रो कार्यकालका लागि उपाध्यक्षमा दोहोरिएका हुन् । गाउँपालिकामा कूल १८ हजार एक सय पाँच मतदाता रहेकामा ११ हजार नौ सय ४३ मत खसेको थियो ।

म्याग्देमा नेकपा एमालेले तीन वडा र काङ्ग्रेसले चार वटा वडामा वडाध्यक्ष जितेका छन् । म्याग्दे–१, ३ र ७ मा एमालेले जितेको छ भने वडा नम्बर २, ४, ५ र ६ मा नेपाली काङ्ग्रेसले जितेको छ ।

गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका उम्मेद्वार डिलबहादुर नेपालीले ९३१ र उपाध्यक्षमा उठेकी जमुना अधिकारीले एक हजार ४२ मत ल्याए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.