३ जेष्ठ ,एजेन्सी ।चरम आर्थिक संकट र राजनीतिक उथलपुथलबाट गुज्रिरहेको दक्षिण एसियाली राष्ट्र श्रीलंकामा अब एकदिनलाई मात्रै पुग्ने इन्धन बाँकी रहेको छ ।
यो जानकारी श्रीलंकाका नवनियुक्त प्रधानमन्त्री रनिल बिक्रमासिंघे स्वयंमले संचारमाध्यमहरुलाई दिएका हुन् । उनले एक दिनलाई मात्रै पेट्रोल स्टक रहेको जनाएका हुन् ।
रनिलले इन्धनको संकट समाधान गर्न श्रीलंकालाई ७ करोड ५० लाख अमेरिकी डलर आवश्यक रहने पनि बताएका छन् ।
उनले भारतबाट इन्धन ल्याउन आफूहरुले प्रयास गरिरहेको समेत बताएका छन् । महिन्द्रा राजापाक्षेले राजीनामा दिएपछि यसअघि ४ पटक प्रधानमन्त्री भइसकेका रनिललाई केही दिन अघि मात्रै प्रधानमन्त्री नियुक्त गरिएको हो ।
नवनियुक्त प्रधानमन्त्रीले श्रीलंकामा एक तिहाई बिजुली इन्धनबाट उत्पादित हुने भएकाले अब इन्धन अभावमा लोडसेडिङ बढ्ने पनि उल्लेख गरे ।
दैनिक १५ घण्टासम्म अब बिजुली कटौती हुने उनले जानकारी दिएका छन् । उनले बिजुली संकटसँग जुध्न आर्थिक सहयोगका लागि प्रयास थालिसकेको बताएका छन् ।
यस्तै, खाना पकाउने ग्यास सबैलाई वितरण गर्न श्रीलंकालाई २० मिलियन अमेरिकी डलर चाहिने उनले बताएका छन् ।
ग्यासको सिपमेन्टको भुक्तानी गर्न आफूहरु प्रयासरत् रहेको रनिलको दाबी छ । श्रीलंकामा औषधिको अभाव पनि बढ्दो छ ।
औषधि उत्पादकलाई ३४ बिलियन अमेरिकी डलर तिर्न श्रीलंकाले बाँकी छ ।
उनले देशमा संकटबीच आफूलाई जिम्मेवारी दिइएको भन्दै समस्या र समाधानका उपायहरु खोजिरहेको बताएका छन् ।
आफूलाई दिइएको जिम्मेवारी पूरा गर्न प्रयास गर्ने भन्दै उनले सबैलाई धैर्यता राख्न भनेका छन् । अझै केही महिना श्रीलंकालीका लागि जीवनकै कष्टकर क्षण हुन सक्ने
रनिलले बताएका छन् ।