सात वर्षअघि बलात्कार गरिएको घटनाको छानबिन गर्न प्रहरी टोली पीडित युवतीको घर पुग्यो

सात वर्षअघि बलात्कार गरिएको घटनाको छानबिन गर्न प्रहरी टोली पीडित युवतीको घर पुग्यो

६ जेठ, काठमाडौं । सौन्दर्य प्रतियोगिताका आयोजकले सात वर्षअघि नशालु पदार्थ खुवाएर बलात्कार गरेको सार्वजनिक गरेकी युवतीको घरमा प्रहरी पुगेको छ ।

हदम्यादका कारण पीडकमाथि कारबाही नहुने भन्ने सुनेपछि विक्षिप्त अवस्थामा अर्को भिडियो सार्वजनिक भएपछि प्रहरी टोली उनको घरसम्म पुगेको हो ।

काठमाडौं उपत्यकामा हुने जघन्य प्रकृतिको अपराध अनुसन्धान गर्ने उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाको नेतृत्वमा काउन्सिरलसहितको टोली उनको घरमा पुगेको छ ।

कार्यालयका प्रमुख एसएसपी वसन्तबहादुर कुँवरले अनलाइनखबरसँग भने, ‘पीडितलाई भेटेर टोलीले कुराकानी गरिरहेको छ, कानुनी रुपमा कसरी अघि बढ्न सकिन्छ भन्ने पनि छलफल भइरहेको छ ।’

बुधबार सामाजिक सञ्जाल टिकटकमार्फत २० वटा भिडियो सार्वजनिक गरेकी युवतीले यसअघि प्रहरीसँग सम्पर्कमा आउन चाहेकी थिइनन् ।

भिडियो सार्वजनिक भएपछि मानवअधिकारकर्मी र अभियन्ताहरुले उनको खोजी गरेका थिए ।जबरजस्ती करणी सम्बन्धी कसूरमा एक वर्षभित्र उजुरी दिइसक्नुपर्ने हदम्याद छ ।

जसकारण उनले न्याय नपाउने अवस्था भएको भन्दै आलोचना भइरहेको छ । उनको पक्षमा युवाले शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पनि धर्ना दिएका छन् ।

उनीहरुले बलात्कारको कसूरमा राखिएको हदम्याद हटाउन माग गरेका छन् ।शुक्रबार संसदमा पनि यो विषयले प्रवेश पाएको छ ।

कांग्रेस महामन्त्री एवं सांसद गगन थापाले तत्काल छानबिन थाल्न सरकारसँग अनुरोध गरेका थिए । सभामुख अग्नि सापकोटाले पनि छानविन गर्न सरकारलाई रुलिङ गरेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.