१७ जेष्ठ, खोटाङ । खोटाङलाई पूर्वी शहरसँग जोड्ने सुनकोशी फोक्सिङटारमा राखिएको अस्थायी बेलिब्रिज हटाइएको छ ।
खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने सुनकोशी फोक्सिङटारमा गएको पुसदेखि सञ्चालनमा ल्याइएको बेलिब्रिज बर्खा लागेसँगै झिकिएको हो ।
गाईघाट–दिक्तेल सडक आयोजनाको ६८ लाखमा रेग्मी–भानुमती–चौधरी जेभीले बेलिब्रिज हटाएको गाईघाट–दिक्तेल सडक कार्यालय उदयपुरका प्रमुख इन्जिनियर गोपाल खकुरेलले बताए ।
दिक्तेल–गाईघाट सगरमाथा राजमार्ग अन्तर्गत पर्ने फोक्सिङटारमा ‘आर्क’ डिजाइनको पुल निर्माणमा ढिलाइ हुँदा विगत ६ वर्षदेखि बेलिब्रिज राख्ने गरिएको छ । ५० मिटर लम्बाई भएको यो बेलिब्रिज निकालेपछि दिक्तेल–गाईघाट सिधा यातायात बन्द भएको छ ।