मलेसिया जाने श्रमिकको बायोमेट्रिक परीक्षणमा देखिएको समस्या समाधान गर्न सहमति

मलेसिया जाने श्रमिकको बायोमेट्रिक परीक्षणमा देखिएको समस्या समाधान गर्न सहमति

२० जेष्ठ ,काठमाण्डौ । वैदेशिक रोजगारीका लागि मलेसिया जाने श्रमिकको बायोमेट्रिक स्वास्थ्य परीक्षणमा देखिएको समस्या समाधान गर्न सरोकारवाला सहमत भएका छन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा मन्त्री कृष्णकुमार श्रेष्ठ र सचिव एकनारायण अर्यालसहित स्वास्थ्य व्यवसायी तथा वैदेशिक रोजगार व्यवसायीका प्रतिनिधिबीच हिजो बिहीबार भएको छलफलमा सरोकारवालाले बायोमेट्रिक स्वास्थ्य परीक्षणमा देखिएको समस्या तत्काल समाधान गर्ने प्रतिबद्धता जनाएको श्रम मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार स्वास्थ्य परीक्षणमा देखिएको समस्या समाधान गर्न स्वास्थ्य व्यवसायी तथा वैदेशिक रोजगार व्यवसायीले संयुक्त वक्तव्य जारी गर्ने, पूर्व श्रम स्वीकृतिका सबै प्रक्रिया पूरा नगरी स्वास्थ्य परीक्षण नगर्ने, नियमानुसार नगर्ने संस्थालाई कारबाहीको दायरामा ल्याउने र स्वास्थ्य परीक्षणको विवरण साप्ताहिकरुपमा मन्त्रालयमा बुझाउने निर्णय भएको छ ।

अबदेखि पूर्व श्रम स्वीकृतिका सबै प्रक्रिया पूरा गरेपछि मात्रै श्रमिकको बायोमेट्रिक स्वास्थ्य परीक्षण गरिनेछ ।

अहिले श्रम स्वीकृतिको प्रक्रिया सुरु नहुँदै दैनिक हजारौँ श्रमिक बायोमेट्रिक स्वास्थ्य परीक्षणका लागि जाने गरेका छन् ।

पूर्व श्रम स्वीकृतिका सबै प्रक्रिया पूरा गरेपछि मात्र स्वास्थ्य परीक्षणका लागि सूचीकृत स्वास्थ्य संस्थाले बायोमेट्रिक स्वास्थ्य परीक्षण गर्नेछन् ।

नेपाली श्रमिकको प्रमुख गन्तव्य देशका रूपमा रहँदै आएको मलेसिया रोजगारी लामो समयपछि नियमित भएपछि स्वास्थ्य परीक्षणको चाप बढेको स्वास्थ्य व्यवसायीको भनाइ छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.