२२ जेष्ठ ,खोटाङ। मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते हुनु भएका राप्रपाका नेता जीवनकुमार श्रेष्ठको ५६ वर्षको उमेरमा निधन भएको छ ।
हिजो शुक्रवार खोटाङको दिक्तेल बजारमा प्रदेश १–०५–००१ प ६८३७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा घाइते हुनु भएका श्रेष्ठको उपचारका क्रममा आज आइतवार निधन भएको हो ।
हेलिकप्टरबाट न्युरो अस्पताल बाँसबारी पु¥याइएका श्रेष्ठलाई अस्पतालले मृत घोषणा गरेको हो ।
श्रेष्ठलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १ दिक्तेलको रत्नपार्क जिरोप्वाइन्टबाट बजारभित्र जाँदै गरेको मोटरसाइकलले ठक्कर दिएको थियो ।
मोटरसाइकलले ठक्कर दिएपछि सडकमा ढलेका श्रेष्ठको टाउको र छातीमा चोट लागेको थियो ।श्रेष्ठ राप्रपा खोटाङका निवर्तमान अध्यक्ष थिए।
झन्डै १५ वर्ष पार्टीको जिल्ला अध्यक्षको भूमिकामा रहनुभएका उहाँ भर्खरै सम्पन्न पालिका चुनावमा दिक्तेल रुपाकोटमा मेयरका उम्मेदवार थिए ।
दुर्घटनामा मोटरसाइकलमा सवार दिक्तेल रुपाकोट ५ लफ्याङकी ४८ वर्षीया विष्णुकुमारी राई घाइते भएका छन ।
हेलिकप्टरबाट श्रेष्ठसँगै काठमाण्डौ पठाइएकी राईको न्युरो अस्पतालमै उपचार भइरहेको छ ।
मोटरसाइकल चालक लफ्याङका १७ वर्षीय अभिषेक राईलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
घाइते विष्णुकुमारी र पक्राउ परेका अभिषेक आमाछोरा हुन् ।