अनुमतिपत्र नलिई दूरसञ्चार सेवा सञ्चालन नगर्न नेपाल दूरसञ्चार प्राधिकरणको आग्रह

अनुमतिपत्र नलिई दूरसञ्चार सेवा सञ्चालन नगर्न नेपाल दूरसञ्चार प्राधिकरणको आग्रह

२६ जेठ, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अनुमतिपत्र नलिई दूरसञ्चार सेवा सञ्चालन नगर्न आग्रह गरेको छ ।

प्राधिकरणले एक सूचना जारी गर्दै दूरसञ्चार ऐन, २०५३ को दफा २१ बमोजिम कसैले पनि अनुमतिपत्र नलिई दूरसञ्चार सेवा सञ्चालन गर्न नपाइने कानुनी व्यवस्था रहेकाले अनुमति लिएर मात्र सेवा सञ्चालन गर्न आग्रह गरेको हो ।

दूरसञ्‍चार प्राधिकरणका सहायक प्रवक्ता अच्युतानन्द मिश्रले कुनै पनि आइएसपी वा इन्टरनेट सेवा प्रदायक कम्पनीले अनुमतिबिना दूरसञ्चार सेवा दिएको पाइए कानुनी कारबाही हुने बताए ।

उनले भने, ‘ कुनै पनि आइएसपी वा इन्टरनेट सेवा प्रदायक कम्पनीलाई दूरसञ्चार ऐन, २०५३ को दफा २१ बमोजिम अनुमतिबिना दूरसञ्चार सेवा सञ्चालन नगर्न आग्रह गरेका छौं। यदि त्यस्तो गरेको पाइएमा कानुनी कारबाही हुन्छ ।’

पछिल्ला केही दिनयता कानुनी व्यवस्थाको बर्खिलाप गरी स्याटेलाइट प्रविधिबाट इन्टरनेट सेवा सञ्चालन भइरहेको उजुरी आएको प्राधिकरणले सूचना निकालेको उनले बताए ।

अनुमतिबिनै दूरसञ्चार सेवा सञ्चालन गरेको पाइए कानुनबमोजिम कारबाही गर्ने बताउँदै उनले प्राधिकरणले अनुमतिपत्र प्राप्त नगरी गैरकानुनीरूपमा कसैले पनि इन्टरनेट सेवा सञ्चालन गरेको वा वितरण गरेको फेला परेमा खबर गर्नसमेत अनुरोध गरे ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.