२७ जेष्ठ, विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली नागरिकले आउँदो प्रदेश र संसदीय चुनावमा पार्टीलाई अधिक ठाउँमा विजयी गराउने बताएका छन् ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले एमाले सङ्घीयता र लोकतन्त्रको रक्षा गर्न प्रतिबद्ध रहनाका साथै संविधान निर्माणमा महत्त्वपूर्ण भूमिका निभाएका कारण नागरिकले संसदीय चुनावमा पहिलो पार्टी बनाउने धारणा राखे ।
अध्यक्ष ओलीले आउँदो संसदीय चुनावमा अन्य कुनै बामपन्थी पार्टीसँग गठबन्धन नहुने बताएका छन् । उनले देशमा एमाले मात्र बामपन्थी पार्टी रहेको जिकिर गर्दै अन्य पार्टीहरु बामपन्थी नभएको आरोप लगाए ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले नेकपा एकीकृत समाजवादीका कार्यकर्तालाई एमालेमा आए समाहित गरिने बताए । उनले आफूलाई अन्य पार्टीका नेतालाई प्रधानमन्त्री बनाउने सम्बन्धमा कुनै आश्वासन नदिएको बताए ।
उनले स्थानीय पालिकाको चुनावले सबै चुनावको स्थिति तय नगर्ने भन्दै सिट सङ्ख्याका हिसाबले केही कम आएर दोस्रो भए पनि लोकप्रिय मतका हिसाबले पार्टी पहिलो भएको जिकिर गरे ।