२७ जेष्ठ , निजगढ । निजगढ सार्वजनिक सरोकार समितिले निजगढ विमानस्थल निर्माण गर्ने वातावरण बनाई दिनका लागि लोकतान्त्रिक समाजवादी पार्टीसँग आग्रह गरेको छ ।
निजगढ सार्वजनिक सरोकार समिति र स्वतन्त्र युवा तथा विद्यार्थी सरोकार समितिले आज लोसपाका शीर्ष नेताहरुलाई ज्ञापनपत्र बुझाउँदै सो आग्रह गरिएको हो ।
जेठ १२ गते निजगढ विमास्थल बारे सर्वोच्च अदालतबाट भएको निर्णयको पुनरावलोकन गराएर वा अर्को कुनै विकल्पमार्फत निजगढ विमानस्थल निर्माणमा सहयोग पुर्याउन आग्रह गरिएको छ ।
निजगढ विमानस्थल निर्माण गर्न यति धेरै जमिन किन चाहियो पनि सुनिएको छ, विमानस्थलको रन्वे र टर्मिनल भवन लगायतले जति जमिन ओगट्छ, त्यति क्षेत्रमा मात्रै रुख काटिने उल्लेख गर्दै त्यसबाहेक विमानस्थलले ओगट्ने अन्य सब जमिनमा रुख विरुवा हुर्काएर हरियाली र सिमसार क्षेत्र कायम गर्ने ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
वातावरणीय सन्तुलन कायम गर्दै यो विमानस्थललाई ‘ग्रिन एयरपोर्ट’ बनाउनुपर्छ भनि आफूहरुको चाहना रहेकाले विमानस्थल निर्माणमा पहल गरिदिन लोसपालाई आग्रह गरिएको छ ।