चुनावी सरकारले पूरा हुन नसक्ने कार्यक्रम ल्याएको एमालेको आरोप

चुनावी सरकारले पूरा हुन नसक्ने कार्यक्रम ल्याएको एमालेको आरोप

२७ जेठ, बुटवल । लुम्बिनी प्रदेश सभाको प्रमुख विपक्षी दल नेकपा एमालेका सांसदहरुले सरकारको नीति तथा कार्यक्रममा गठबन्धन सरकारले दीर्घकालीन योजना ल्याएको आरोप लगाएका छन् ।

सरकारको नीति तथा कार्यक्रममाथि शुक्रबारदेखि सुरु भएको छलफलमा नेकपा एमाले संसदीय दलका उपनेता बैजनाथ चौधरीले मंसिरसम्मको सरकारले दीर्घकालीन महत्व राख्ने खालका योजनाहरु ल्याएको बताए ।

पूर्व अर्थमन्त्रीसमेत रहेका चौधरीले नीति तथा कार्यक्रम राजनीतिक भाषण जस्तो भएको टिप्पणी गर्दै सरकारले क्रमागत योजनाहरुभन्दा टुक्रे योजनाहरु ल्याउन उद्धत भएको बताए ।

नीति तथा कार्यक्रम अनुसार बजेट आउनेमा आशंका रहेको चौधरीले बताए । ‘वजेटमा गठबन्धनका कार्यकर्ताहरुलाई खुशी पार्न लाख भन्दा तलका योजनामा पैसा छर्न लागेको सुन्दैछु’ चौधरीले भने, ‘नीति तथा कार्यक्रममा पूर्ववर्ती सरकारले ल्याएकै कार्यक्रमहरु छन्, नयाँ केही छैनन् ।’

विपक्षी दलका अर्का सांसद विष्णु पन्थीले आवश्यक नै नभएका योजनाहरु नीति तथा कार्यक्रममा राखिएको आरोप लगाए । ‘चुनावी सरकारले पूरा नै गर्न नपर्ने भएकाले उडन्ते योजनाहरु ल्याएको छ’–पन्थीले भने ।

सत्तापक्षका सांसद सुदर्शन बरालले भने प्रदेश प्रमुखले नीति तथा कार्यक्रम पेश गरिरहदा विपक्षी दलका नेता एंव पूर्व मुख्यमन्त्री शंकर पोखरेल उपस्थित नभएकोमा प्रश्न उठाए ।
यस्तै सत्तापक्षका सांसद दामा कुमारी शर्माले उद्योग, कृषि शिक्षा, स्वास्थ्यलाई प्राथमिकता दिएर नीति तथा कार्यक्रम ल्याएको बताइन् ।

छलफलमा सांसदहरु भोज प्रसाद श्रेष्ठ, भुवनेश्वर चौधरी, पुष्पा थरुनी, दीपा विश्वकर्मा, भगवतीदेवी भण्डारी, सरस्वती गौतमले नीति तथा कार्यक्रम राम्रो भएको भन्दै महिला स्वास्थ्य स्वमसेविका, एकल महिलालाई सम्बोधन गर्न माग गरेका थिए ।

अर्को प्रदेशसभा बैठक शनिबार दिउँसो १ बजे बस्ने ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.