विश्वकप क्रिकेट लिग-२ः नेपाल र अमेरिकाबीच रोमाञ्चक बराबरी

विश्वकप क्रिकेट लिग-२ः नेपाल र अमेरिकाबीच रोमाञ्चक बराबरी

२९ जेष्ठ, एजेन्सी । आईसीसी विश्व कप क्रिकेट लिग–दुई अन्तर्गत त्रिदेशीय एक दिवसीय श्रृङ्खलामा नेपाल र अमेरिकाबीचको खेल बराबरी भएको छ ।

नेपालका अलराउन्डर आदिल अन्सारीले अन्तिम ओभरमा उत्कृष्ट बलिङ गरेपछि नेपाल र अमेरिकाबीचको खेल रोमाञ्चक बराबरी भएको हो।

२ सय ७५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २ सय ७४ रन बनायो ।

यसअघि ह्युस्टनमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ४९ ओभर २ बलमा अलआउट हुँदै २ सय ७४ रन जोडेको थियो ।

अमेरिकालाई जितका लागि अन्तिम ६ बलमा ६ रन चाहिएको अवस्थामा अन्सारीले पाँच रन खर्चेर बराबरी गराए । बराबरीसँगै नेपाल र अमेरिकाले एक-एक अङ्क बाँडेका छन् ।

अमेरिकाका स्टिभन टेलरले १ सय १४ रनको शतक प्रहार गरेपछि जितउन्मुख भएको थियो । उनको यो अन्तर्राष्ट्रिय करिअरको पहिलो शतक हो ।

त्यस्तै अमेरिकाका कप्तान मोनाङ्क पटेलले ८५ रनको अर्धशतकीय पारी खेले । नेपालका लागि एक दिवसीयमा डेब्यु खेल खेलेका अन्सारीले ३ विकेट लिए ।

सन्दीप लामिछाने र सोमपाल कामीले १-१ विकेट लिए । नेपालका लागि रोहित पौडेलले ६२, आसिफ शेखले ६१ र देव खनालले ५४ रनको अर्धशतकीय पारी खेले ।

रोहितको एक दिवसीयमा पाँचौँ, देव र आसिफको समान दोस्रो अर्धशतक हो । अमेरिकाका रस्टी थेरनले ४, सौरभ नेत्रवालकार र अली खानले २-२ विकेट लिए । यसअघि पहिलो खेलमा नेपाल ओमानसँग १३ रनले पराजित भएको थियो ।

नेपाल १४ खेलमा ६ मा जित, ७ मा हार र एक बराबरीसहित छैटौँ स्थानमा छ । नेपालको १३ अङ्क रहेको छ ।

त्यस्तै अमेरिका २२ खेलमा १० मा जित, ११ मा हार र एउटा बराबरीसहित २१ अङ्ककासाथ चौथो स्थानमा रहेको छ ।

ओमान ३४ खेलमा ४२ अङ्ककासाथ शीर्ष स्थानमा कायमै छ । नेपालले तेस्रो खेलमा फेरि ओमानसँग जेठ ३१ गते र अन्तिम खेलमा अमेरिकासँग असार १ गते खेल्ने तालिका रहेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.