३ असार, काठमाडौँ । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले नेपाल कुनै पनि सैन्य गठबन्धनमा सहभागी नहुने स्पष्ट पारेका छन् ।
अमेरिकासँग भएको भनिएको स्टेट पार्टनरसिप प्रोग्राम एसपीपीबारे प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आजको बैठकमा जवाफ दिने क्रममा प्रधानसेनापति शर्माले सैन्य गठबन्धन हुँदैन भनेर अमेरिकी अधिकारीहरुलाई भनिसकेको पनि जानकारी गराए ।
उनले २०७२ साल कात्तिक १० गते पत्र पठाएको जानकारी दिँदै त्यो पत्र मिलिटरी तालिमसँग सम्बन्धित नरहेको स्पष्ट पारे । अहिले नेपाली सेनाले लेखेको जुन पत्र सार्वजनिक भएको छ, यो सत्य भएको बताए ।
‘चिठी लेखिएको साँचो हो । तर चिठी लेख्दैमा सैन्य अलायन्स लेखिएको छैन’ उनले भने । उनले भूकम्पको बेला मानवीय सहायताका लागि भनेर पत्र लेखिएको पनि बताए ।
उनले भने, ‘कात्तिक १० गते २०७२ सालमा पत्र लेखिएको हो । यो मिलिटरी तालिमसँग सम्बन्धित छैन, त्यो भूकम्पको समय थियो, हामीले विपदमा काम गर्नु थियो त्यसकै लागि गरिएको हो, नेपालको परराष्ट्र नीतिको बर्खिलाप र सैन्य गठबन्धनमा जान रक्षा र परराष्ट्र मन्त्रीको स्वीकृतिमा पत्र लेखिएको थियो ।’
यस्तै, उनले सैन्य पार्टनरसिप गर्न नपरोस् भनेर विभिन्न काम अघि बढाइएको पनि बताए । यो पार्टनरसिप अन्तर्गत ४ वटा जहाज लिएको र २ वटा आइसकेको अरू प्रक्रियामा रहेको पनि उनले जानकारी गराए ।
एउटा एअर एम्बुलेन्स आउने तर यो कार्यक्रमबाट कुनै हतियार र पैसा नलिएको उनको भनाइ छ । अमेरिकाले प्रस्ताव गरेको भनिएको १० बुँदे सम्झौताबारे आफूहरुलाई थाहा नभएको र त्यो प्रस्ताव आएको नआएको पनि उनले बताए ।